काठमाडौं । काठमाडौँ उपत्यकामा समय परिवर्तन गरेर आजबाट द्रुत बस सेवा पुनः सुरु गरिएको छ ।
पहिले बिहान ९ देखि बस सेवा सुचारु गरिए पनि अब भने बिहान ८:३० देखि १०:३० सम्म र बेलुका ३:३० देखि ५:३० बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
बस प्रत्येक तीन–तीन मिनेटको अन्तरमा छुट्ने व्यवस्था मिलाइएको छ। गत असोज ३ गते (संविधान दिवस) को अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गर्नुभएका थियो।
सञ्चालन भएको एक हप्ता राम्रोसँग सञ्चालनमा आएको सेवा माइतीघरमा भएको शिक्षक आन्दोलनका कारण केही दिन प्रभावित भएको थियो। उक्त सेवा दसैँ, तिहार जस्ता चाडपर्वमा लामो समय बिदा भएकाले अपेक्षा गरेअनुसार सञ्चालनमा आउन सकेन।
आइतबारबाट भने द्रुत बस सेवा थप प्रभावकारी रूपमा सञ्चालनमा आएको जनाइएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार द्रुत बस सेवा थप प्रभावकारी रूपमा सञ्चालनमा आएकाले अब बिना कुनै रोकावट सञ्चालनमा आउने छ।
आइतबार बिहान द्रुत बस सूर्यविनायकबाट बिना कुनै रोकावट ४५ मिनेटमा नै रत्नपार्क पुगेको उहाँले बताउनुभयो।
अन्य बसका लागि लागू भएको भाडादर नै द्रुत बस सेवाका लागि पनि लागू हुने उहाँको भनाइ छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या आएको बुझिएकाले त्यसको व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई आग्रह गरिएको उहाँको भनाइ छ।
द्रुत बस सेवा सुरुको समयमा ट्रायलको रूपमा सञ्चालनमा ल्याइएको र प्रत्येक एक–एक महिनामा सेवाको बारेमा अनुसन्धान गर्दै अघि बढ्ने योजना रहेको उहाँले बताउनुभयो।