काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर १६ गतेबाट शुरु हुन लागेको महोत्सवका लागि नेपालसहित ३९ देशका कलाकृतिहरु समावेश हुने र धेरै देश तथा काठमाडौँ बाहिरबाट कलाकारहरु समेत आउने भएपछि त्यसको व्यवस्थापनका लागि कलाकारले तीव्र रुपमा काम गरिरहेका छन् ।
अन्तराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुने उक्त कार्यक्रमका लागि संस्थाका कोषाध्याक्ष भीम श्रेष्ठ र सदस्य डिबी राई पनि तयारीमा सक्रियरुपमा लागिरहनुभएको छ । उहाँहरुले जलरङ महोत्सव नेपालमा लगातार भइरहकोले एउटा ब्राण्डकै रुपमा स्थापित भएको बताउनुभएको छ ।
यसले विश्वमा नेपालको कला सँस्कृति प्रवद्र्धन गर्दै पर्यटन विकासमा सहयोग पुर्याएको बताउनुभयो । उहाँहरुले जलरङको विकासमा पनि योगदान पुर्याएको बताउनुभयो ।
कोषाध्यक्ष श्रेष्ठले कलाकारहरुको बस्ने व्यवस्थापनका लागि होटल बुकिंगको काम र क्याटलकको काम समेत सकिएको पनि बताउनुभयो ।
उहाँले विदेशबाट ४० जना कलाकारहरु सहमागि हुने र राजधानी बाहिरबाट पनि ४०/५० जना कलकारहरु सहभागी हुने बाँकी उपत्यकाका गरी भण्डै २०० कलाकार कार्यक्रममा प्रत्यक्ष सहभागी हुने भएकाले त्यसको व्यवस्थापनका साथै उद्घाटनका दिन हुने कार्यक्रमको तयारी भइरहेको बताउनुभयो ।
समाजका सदस्य डिबी राईले भन्नुभयो, ‘यसले एउटा त वाटरकलरको विकास, अन्तराष्ट्रिय सम्बन्ध विकास पनि गर्छ र कलाका माध्यामबाट पर्यटनलाई सहयोग गर्ने नै हो । कार्यक्रमले नेपालको सम्पदालाई विश्वमा पुर्याउन सहयोग गर्छ ।’
उहाँले वाटरकलरको विकास अरु देशले के गरिरहेको र हामीहरुले के गरिरहेका छौँ भनेर तुलना गरेर काम गर्न सकिने बताउनुभयो । उहाँले यसले अन्तराष्ट्रिय सम्बन्धको विकास पनि गर्ने बताउनुभयो ।
उहाँहरुले ८० प्रतिशत देखि ९० प्रतिशतको हाराहारीमा तयारी सकिएको बताउनुभएको छ । विश्वका ३९ देश सहभागी हुने र ३०० भन्दा बढी कला कृतिको प्रदर्शनीसँगै सयौँ कलाकारको सहभागितामा कला कार्यशाला र डेमोस्ट्रेसन हुने कार्यक्रम आफैँमा नेपालकाे ठूलाे काय्रक्म भएकाे बताउनुभएकाे छ ।
उक्त कार्यक्रमले नेपालमा पर्यटकीय गतिविधि बढाउने र आर्थिक चलायमान गराउने विश्वास पनि गरिएको छ । त्यसमाथि संस्कृति प्रवद्र्धनमा यसले ठूलो योगदान पुर्याउने छ । यसलाई कलाको महाउत्सव अथवा अन्तराष्ट्रिय कला सम्मेलनका रुपमा हेरिएकाे छ। तेस्रो संस्करणमा आइपुग्दा यसले बृहत रुप लिएको छ ।
विगतको अनुभवबाट सिकेर थप परिस्किृत बनाइएकाे समाजले जनाएकाे छ । यही मंसिर १६ गतेदेखि २० गतेसम्म हुने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुनु नेपालकै लागि गाैरवकाे कुरा हाे ।
झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला हुने छ । उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषदमा विश्वभरबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ ।
त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सक्नेछन्। महोत्सवअन्तरगत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ । कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुनेछ ।
काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने छ । धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले नेपालका प्रचारप्रसार हुने छ।
जसले पर्यटन विकासमा सहयोग पुर्याउने छ । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।