काठमाडौँ । लैंगिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसा भित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।
आजबाट शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्यंक अनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले चिनाजानबाटै हिंसामा पर्नु दुखद कुरा भएकाले यसलाई रोक्न समुदायको सक्रिय सहभागिताको खाँचो रहेको औँल्याउनुभयो ।
प्राप्त विवरण अनुसार घरेलु हिंसाभित्र श्रीमान श्रीमतीबीच हुने घरेलु हिंसाका घटना मात्रै ६७ प्रतिशत रहेको छ । प्राप्त विवरणमा गएको एक वर्षमा प्रहरीमा १६ हजार ५१९ घरेलु हिंसा र अन्य लैंगिक हिंसा ४ हजार ३९४ वटा दर्ता भएको छ ।
उमेर समूहका हिसाबले हेर्दा पीडित भएका मध्ये ६३ प्रतिशत बालिका (११ देखि १६ वर्ष)का रहेका छन् । पीडक भने १० वर्षदेखि २५ वर्षका मात्रै झण्डै ३८ प्रतिशत रहेका छन् । डर धाक धक्की देखाएर ५० प्रतिशत हिंसा भएको र चकलेट खुवाएर ३५ प्रतिशत तथा विवाह गर्ने लोभ देखाएर १४ प्रतिशत हिंसाका घटना भएको छ ।
निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ८९ प्रतिशत चिनजानका मासिनबारै हिंसा भएको तथ्यले देखाएको बताउनुभयो । त्यसमा पनि १२ प्रतिशत आफ्नै परिवारका, झण्डै २३ प्रतिशत छिमेकी, ०.४६ प्रतिशत शिक्षकले हिंसा गरेको घटना दर्ता भएको छ । केटा साथीबाट ५ प्रतिशत हिंसा भएको छ ।