काठमाडौँ । काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा उपत्यका झल्कने कलाकृतिहरुले दिनभर आकर्षक देखिए। त्यहाँ ३६ कलाकारका काठमाडौँ उपत्यकाका सम्पदाका सिर्जनाहरु प्रदर्शन गरिएको थियो ।
कलाकारहरुले क्यान्भासमा उनेका आकर्षक सिर्जनाले वसन्तपुर घुम्न आएका पर्यटक तथा अन्य सहभागीहरु लोभिए । उनीहरुले चित्र रुचिपूर्वक अवलोकन समेत गरेका थिए ।
मुख्यगरी सिर्जनामा काठमाडौँको दरबार स्क्वायर र यस वरपरका सुन्दर मन्दिरहरु, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सिर्जनाहरु सहभागि गराइएको थियो ।
यस्तै काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए । उक्त कला कार्यशाला तथा प्रदर्शनीको संयोजन गर्नुभएका कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि उक्त प्रदर्शनी गरिएको बताउनुभयो ।
नेपाल सम्बतका अबसरमा नेकपा एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामुन्य प्रदर्शनी भएका कला सिर्जनामध्ये अधिकांश बिक्री पनि भएको उहाँले बताउनुभयो ।
यहाँ राखिएका सिर्जना कम्तिमा रु १० हजारदेखि रु ५० हजारसम्ममा बिक्री भएको उहाँले बताउनुभयो । प्रदर्शनीको केही घण्टामै यसरी कला सिर्जना बिक्री हुँदा आफूहरु निक्कै खुसी भएको प्रदर्शनीमा सिर्जना सहभागि गराउनुभएका कलाकार दिपेन्द्रमान बनेपालीले बताउनुभयो ।
प्रदर्शनीमा अग्रज कलाकार एबं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले अर्धअमूर्त चित्र बनाउनुभएको थियो ।
केही कलाकारले अमूर्त र केही कलाकारले दृष्यचित्र समेत उतारेका थिए । अधिकांश सिर्जनामा उपत्यका र आसपासका दृष्य कैद भएको थियो ।
जलरङ, एक्रेलिकलगायत विभिन्न माध्यामको प्रयोग गरी सिर्जना गरिएका चित्रले नेपालको मौलिक पहिचान प्रस्तुत गरेको अर्का कलाकार डिबी राइले बताउनुभयो ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, पूर्वकुलपति कान्छाकुमार कर्माचार्य कलाकारहरु एनवी गुरुङ, भीम श्रेष्ठ, डिबी राई, दिपेन्द्रमान बनेपाली, कान्छाकाजी भासीमा, राकेश श्रेष्ठ, उत्तम डंगोल, विजय थापा, सुष्माराज भण्डारी, धनु याख्खा, विपना महर्जनलगाय ३६ कलाकारका सिर्जनाहरु प्रदर्शन गरिएको थियो ।