काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित यु.एन. हाउस र मन्त्रीनिवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी ६ महिनाका लागि निषेधाज्ञाको आदेश जारी गरेको ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्धारा आज जारी आदेशमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम सो क्षेत्रमा आजदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला/जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’
आदेशमा त्यहाँको पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्रका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ ।
यसअघि हिजो सोमबार काठमाडौँ प्रशासनले माइतीघर–बानेश्वर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । ६/६ महिनासम्म निषेधको आदेश जारी गर्नुपर्ने विषयमा भने आलोचना भएको छ । छ महिनासम्म निषेधाज्ञा लगाउनुपर्ने अबस्था के पर्यो ? भनेर प्रश्न उठेको छ ।