काठमाडौँ । नेपालमा यही मंसिर १६ गतेदेखि २० गतेसम्म हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तराष्ट्रिय वाटरकलर फेष्टिवल)मा ३९ देशका ३०० बढी कलाकृति समावेश हुने भएको छ ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा उक्त महोत्सव हुन लागेको हो।
महोत्सवबारे जानकारी दिँदै समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारहरुबाट कलाकृतिहरु आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यती धेरै देशबाट कलाकृति सहभागि भएर कला प्रदर्शनका साथै डेमोस्ट्रेसन गर्न लागिएको सम्भवतः कला क्षेत्रको यो नेपालकै पहिलो कार्यक्रम भएको दावी गर्नुभयो ।
उहाँले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशाला समेत हुने जानकारी दिनुभयो ।
उद्घाटनको दिन मंसिर १६ गते नेपाल कला परिषद्मा विश्वबाट सहभागि भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट लाइभ डेमोस्ट्रेसनसमेत हुने छ ।
त्यहाँ नेपाली कलाकारहरुले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सकिने उहाँले बताउनुभयो । महोत्सवअन्तरगत नगरकोटमा सूर्याेदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजना समेत रहेको छ । कलाकारहरुलाई सम्मान तथा पुरस्कारसमेत हुने छ ।
काठमाडौँ दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूमा कला सिर्जना हुने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालकाका संस्थापक सदस्य डिबी राईले बताउनुभयो ।
उहाँले धेरै कलाकारले काठमाडौँको सम्पदाका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने बताउनुभयो ।
यसपाली भारत, बंगलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकारहरु प्रत्यक्ष सहभागि हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागि हुँदैछन् । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकिएको छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “जसका कारण जलरङमप्रति आकर्षण बढेको छ, अरु मिडियममा काम गर्ने कलाकार पनि वाटरकलरमा काम गरिरहेको देखिएको छ । हामीले गरेको नै त्यही हो । वाटर कलरिष्टहरुको सहभागिता बढाउने भन्ने हो । राम्रो काम देखिनुपर्छ भन्ने हो । हामीले सोचेको काम भइरहेको छ । सन्तोषजनक छ ।”
उक्त कार्यक्रममा सहभागि हुन उहाँले कला पारखीहरुलाई अनुरोध गर्न गर्नुभएको छ ।