काठमाडौँ । जाजरकोट भूकम्पमा परी मृत्यु भएका १५७ जनाकै शवको सनाखत गरी आज आफन्तलाई बुझाइसकिएको छ ।
गृहमन्त्रालयले अहिले खोज, उद्धार तथा राहत व्यवस्थानपमा सरकारका सबै अंग परिचालित रहेको जानकारी गराउँदै घाइतेहरु पनि उपचारपछि घर फर्कनेक्रम शुरु भएको जानकारी दिनुभयो ।
अहिलेसम्म भुकम्पमा परेर ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जसमा जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ तथा रुकुमपश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् ।
यस्तै घाइते २५६ जना मध्ये १४६ जना उपचारपछि घर फर्किएका पनि मन्त्रालयले जनाएको छ । अहिले ११० जना उपचाररत रहेका छन् ।
अहिले राहत सामग्री वितरण र अस्थायी पुनस्थापनको कामलाई तिब्रता दिएको गृहले जनाएको छ । जसमा नेपाली सेनाको हेलिकप्टरबाट सामग्रीहरु लैजाने क्रम जारी रहेको र सडक मार्गमार्फतबाट समेत काम भइरहेको जनाइएको छ ।
९१० घर पूर्ण क्षति
प्रहरी प्रधान कार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म ९१० घर पूर्ण क्षति भएको जानकारी गराएको छ ।
आज साँझ अध्यावधिक गरिएको विवरण अनुसार ९१० घर पूर्ण क्षति र २ हजार ८६१ घर भने आंशिक क्षति भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।
अहिले एक हजार ६५ जना प्रहरी टोलीले खोज, उद्धार तथा राहतमा काम गरिरहेका पनि उहाँले बताउनुभयो । राहत पुनस्थापनमा काम तिब्र भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।