काठमाडौँ : हक्की स्वभाव र हरेक कुरामा अपडेट राख्नसक्ने क्षमताका धनी पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफ्नो छुट्टै व्यक्तित्व छ । राजनीतिक व्यस्तताका बीच उहाँका अन्य धेरै विषयहरुको गहिरो रुचि रहने गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई मंगलबार संसदमा ठिक ४ बजे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन रहेकाले त्हाँ जाने हतारोलाई एकैछिन विसाएर नेपाल कला परिषद्मा छिर्नुभयो ।
उहाँले परिषद्मा प्रदर्शनीमा राखिएका एक/एक सिर्जनाहरु अवलोकनका लागि समय दिनुभयो । कलाकार सुष्माराज भण्डारीको एकल चित्रकला अवलोकन गर्दैगर्दा उहाँको नजर एक्कासी आफ्नै मुहार चित्रमा पुर्यो ।
“यहाँ त म पनि रहेछु, दङग पर्दै उहाँले कलाकार सामु भन्नुभयो । त्यसपछि शुरु भयो २१ जना कलाकारले बनाएका उहाँका विभिन्न प्रकृतिका भाव झल्किने मुहार चित्रको अवलोकन ।
कलाकारहरुले आफूले बनाएका चित्रका बारेमा अध्यक्ष ओलीलाई व्रिफिङ गर्दै जानुभयो । उहाँका २१ मुहार चित्रले जीवनकालका उहाँकै आरोहअवरोध र राजनीतिक उतारचढावलाई झल्काइरहेको देखिन्थ्यो। त्यसपछि उहाँ कलाकार राजेश महर्जनले बनाएको छ्वाली आर्टमा अडिनुभयो ।
उक्त सिर्जनामा छ्वालीबाट केपी ओलीको तस्वीर दुरुस्त थियो । चित्र सिर्जनाकर्ता महर्जनले मुहार चित्रको छेवैमा चन्द्र र सूर्यसहितको सिर्जनाले देश प्रेमको भाव झल्काएको पाइन्थ्यो । ओलीलाई सिर्जनाबारे बताउँदै महर्जनले भन्नुभयो, “यो नेपाली झण्डाको सिम्बोल दिएर देशलाई बचाउन र विकास गर्न आव्हान गरिएको हो, देशलाई असल नेताको खाँचो छ भन्ने सन्देश हो ।” भावभङ्गीमा ओलीले सही थाप्दै भन्नुभयो, “खुसी लाग्यो ।”
त्यस्तै अर्काे मार्मिक मुहार चित्र कलाकार रत्नकाजी शाक्यले बनाउनुभएको छ । उहाँले ओलीको १४ वर्षे जेल जीवनलाई स्मरण गराउने गरी मुहार चित्रमा कला भर्नुभएको छ । ओली सामु शाक्यले भन्ुनभयो, “आफ्नो पनमा जेल बस्दाहरुको भाव बनाएको हुँ । उक्त सिर्जनाले जेलमा १४ वर्ष विताउँदाको अनुभूति दिन खोजिएको छ ।
यी सबै गरी उहाँका कुल २१ मुहार चित्र हेरेर ओली दङ्ग पर्नुभयो । उहाँले भन्नुभयो, “मलाई नै तस्वीरमा उतार्नुभएछ, तस्वीरमा धेरै प्रकारका भावहरु देखेँ, यसरी कला सिर्जना गर्नुभएकोमा म धेरै खुसी छु र तपाईहरुलाई धन्यवाद भन्छु ।”
त्यतीमा मात्रै उहाँ अडिनुभएन । उहाँले थप्नुभयो, “मेरो उहाँहरुले एक कप चिया पनि खानुभएको थिएन, म प्रति किन यती दुख गर्नुपथ्र्याे होला र तर पनि गर्नुभयो, यसका लागि म सधैँ ऋणि बनेको छु।”
सात महिना अघि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला कार्यशाला भएको थियो । त्यसको संयोजन कलाकार सुष्माराज भण्डारीले गर्नुभएको थियो । कला संस्कृतिमा दख्खल राख्ने र प्रवद्र्धनमा योगदान दिँदै आउनुभएका पूर्वप्रधानमन्त्री ओलीलाई त्यही बेला कलाकार सामु उभ्याइएको थियो ।
उहाँलाई त्यहाँ प्रत्यक्ष (लाइभ) हेर्दै कलाकारले उहाँको मुहार चित्रलाई क्यान्भास रङ्ग्याएका थिए । कलाकार दिपेन्द्रमान बनेपालीले ओलीको गम्भिर मुद्राको मुहार चित्र बनाउनुभएको छ । अर्का कलाकार एनवी गुरुङको उहाँको केही नियाल्दै गरेको तर चिन्तन मनन गरिरहेको भाव झल्किने सिर्जना देख्न सकिन्छ। सात महिना अघिका उहाँका मुहार चित्रहरु नै अहिले प्रदर्शनीमा राखिएको हो ।
। पाँच दिने प्रर्दशनमा उहाँका सिर्जनासँगै सुष्माराज भण्डारीका १९औँ एकल कला प्रदर्शनी पनि पनि चलिरहेको छ । उहाँका ३३ सिर्जना प्रदर्शनमा राखिएको छ ।
भ्ण्डारीका गणेश र अमूर्त क्रियसन रहेको छन् । इन्द्र जात्रामा ल्याउने सांस्कृतिक पहिचानका विषयहरु पनि सिर्जनामा समावेश छ ।
उहाँले भन्नुभयो, “इन्द्रजात्रामा कुमारी मात्रै ल्याउँछ भन्ने बुझाइ छ । इन्द्रको डागी (आमा) र बाबु खोज्न आउँने चलन छ । त्यो पनि इन्द्रजात्रामा समावेश हुन्छ भनेर देखाउन खोजेकी हुँ । मानन्धरहरुले यसरी मनाउने गर्छन । तर धेरैलाई यो संस्कृति थाहा छैन ।”