काठमाडौँ : काठमाडौँमा आजदेखि अग्रज कलाकार शुष्मा राजभण्डारीको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ । सोही क्रममा नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्र िकेपी शर्मा ओलीको मुहार चित्र पनि प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनी उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन्।
आज काठमाडौँस्थित नेपाल कला परिषदमा कलाकार राजभण्डारीको १९औँ एकल चित्रकला प्रदर्शनीमा उनले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र वाह्य शक्ति नै रहेको दावी गरे।
ओलीले नेपालीहरु लामो समयसम्म हातमुख जोर्न नै लागि परेकाले साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्राप्त गर्न नसकेको बताए। विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको दावी थियो।
उनले भने, ‘लामो समयसम्म त हामी हातमुख जोर्नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन। राण शासन र त्योभन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन। राणा गए, अब अरु शासन चाहीँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन। त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरुको कारणले हो।’
उनले थपे, ‘जे होस् हामी पछि पर्यौँ। पछाडि पारिएको हुनाले पछि पर्यौँ। वाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे। कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सिमित भयो। आम जनताको र देशको विषय बनेन। तर अब हामी अघि बढ्छौँ।’
अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सिमित भएकाले यसको विकास हुन नसकेको बताए।