काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।
भोलि कात्तिक १२ गतेदेखि चार दिने भ्रमणका क्रममा आज राती नेपाल आउन लाग्नुभएका उहाँको भ्रमणका लागि विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार प्राप्त सबै सुरक्षा निकायलाई परिचालन गरिसकिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले समन्वयात्मक रुपमा सबै सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । केन्द्रीय सुरक्षा समन्वयको काम गृहबाट र अन्य जिल्लाको सुरक्षाको काम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हुने पनि उहाँले बताउनुभयो । आवश्यक सबै तयारी पुरा भइसकेको उहाँले बताउनुभयो ।
“राष्ट्रसंघ आफैँ शान्तिका लागि स्थापित मूल संस्था भएकाले पनि खास ठूलो समस्या हुँदैन तर पनि अति विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी कार्यविधिका आधारमा सबै तयारी गरिएको छ”, प्रवक्ता भट्टराईले भन्नुभयो ।
यता नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारी अनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता, सहायक रथि कृष्णप्रसाद भण्डारीले गृहमन्त्रालयले बनाएको उक्त सुरक्षा कार्यविधि अनुसार सबै सुरक्षा निकायलाई आफ्नोआफ्नो जिम्मेवारी तोकिएको र सोही अनुसार सेनाले आफ्नो जिम्मेवारी लिइसहेको बताउनुभयो ।
त्यसका अलावा नेपाली सेनाको आफ्नै अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय नै रहेको छ । सोही निर्देशनालयबाट आवश्यताअनुसार सैनिक जनशक्ति खटाइएको भण्डारीले जानकारी दिनुभयो ।
उहाँको भ्रमणको सबै समन्वयको काम परराष्ट्र मन्त्रालयले गर्ने छ । तर सुरक्षाको नेतृत्व भने नेपाली सेनाले नै गर्ने छ ।
जुनजुन ठाउँमा अति विशिष्ट व्यक्तिहरुको भ्रमण हुन्छ, त्यस ठाउँको जिल्ला सुरक्षा समितिले गरेको निर्णय अनुसार सुरक्षा टोली परिचालन हुने छ । उक्त कार्यविधि अति गोप्य हुने भएकाले सार्वजनिक गरिँदैन ।
यसरी विशिष्ट व्यक्तिहरु सुरक्षाको मुख्य भूमिका सेनाको भए पनि समन्वयात्मक रुपमा नेपाल प्रहरीलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षाकर्मीहरु परिचालन भइसकेका नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । यस्तै सशस्त्र प्रहरीले पनि आफ्नो सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा भएको संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटलीको रोममा गत साउनमा भएको राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिनुभएको थियो ।
सोही निमन्त्रणा अनुसार उहाँ असोज २७ गते नै नेपाल भ्रमणको मिति तय भएको थियो । तर इजरायलमा भएको हमासको आक्रमणपछि रोकिएको थियो ।
उहाँको भ्रमणका क्रममा शान्ति प्रक्रियाका साथै जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूका सवाल प्राथमिकतामा रहेको जनाइएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरु, प्रमुख राजनीतिक दलका नेताहरूलगायतसँग शिष्टाचार भेट गर्नुहुने छ । उहाँले कात्तिक १४ गते ४ बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा उहाँले उपत्यकाको पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण बेस क्याम्पलगायत क्षेत्रको भ्रमण गर्ने तालिका छ । उहाँको भ्रमण कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म रहने छ ।