काठमाडौँ : काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालीको दशैँ छिटफुटबाहेक शान्तिपूर्ण बनेको छ।
विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र ठूला कुनै पनि घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फूलपाती यता केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटनाहरु नभएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैँ विगतका वर्षहरुमा भन्दा सौहार्दपूर्ण रुपमा सकिएको छ।
उपत्यकाका तीन जिल्लामा चाडवार्ड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोषाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा निगरानी गरिएको थियो ।
एसएसपी मैनालीले भन्नुभयो, “सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन, सादा पोषाकमा समेत प्रहरी परिचालन गरेर सुक्ष्म निगरानी गरिएको र ड्रोन तथा कुकुरको समेत प्रयोग गरियो, जनशक्ति थप गरेर निगरानी गरिएकाले उपत्यकाको दशैँ शान्तिपूर्ण बन्यो, अब छठसम्मै यसलाई जारी राख्ने योजनाका साथ निगरानी भइरहेको छ।”
यद्यपि कडा सुरक्षाका बीच छिटफुट घटनाहरु भने देखिएका छन् । यही कार्तिक ४ गते फूलपातीदेखि आज १० गते विहानसम्ममा उपत्यकामा १०३ वटा घटना भएको छ । ती घटनाहरुमा परेर २ जनाको मात्रै मृत्यु भएको छ भने ११८ जना घाइते भएका मैनालीले जानकारी दिनुभयो ।
यो बीचमा २० वटा आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । चोरीका १० घटना भएको छ । यस्तै धारिलो हतियार प्रहारसम्बन्धी दुई वटा घटना भएको र ती घटनामा तीन जना घाइते भएका छन् ।
जुवा ताससम्बन्धी ३ वटा घटना भएको र उक्त घटनाअन्तरगत काठमाडौँबाट ७ जना, ललितपुरबाट १३ जना र भक्तपुरबाट २ जना गरी कुल २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट रु ५ लाख नगद बरामद गरिएको छ ।