काठमाडौँ । दक्षिण कोरियाका वरिष्ठ कलाकार जाका जङ्गको ‘फर यु’ शीर्षकमा एकल कला प्रदर्शनी काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा आजदेखि शुरु भएको छ ।
नाफास्थित चन्द्रमान मास्के कला दीर्घामा शुरु प्रदर्शनी यही कात्तिक १२ गतेसम्म हुने आयोजक धनु आर्ट स्टुडियोका सञ्चालक धनबहादुर याख्याले जानकारी दिनुभयो ।
प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रदिप पौडेले नेपाली कलाको विकास र कलाकारका समस्याका बारेमा सदनमा पनि विषय उठाउने प्रतिद्धता व्यक्त गर्नुभएको छ। सांसद पौडेलले कलालाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कलाले नै त्यो देशको पहिचान दिलाउने र जीवन्त बनाउन बनाउने बताउँदै अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि पनि सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
कोरियन कलाकार जाङ्गले नेपालमा आफ्ना कलाकृति प्रदर्शनी गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिनुभयो। उहाँले आउँदो दिनमा नेपाल र कोरिया दुबै देशलाई कलामार्फत चिनाउनुपर्ने धारणा राख्नुभयो। विगतमा नेपालमा कला कार्यशालामा सहभागी हुन आए पनि नेपालमा भएको यो एकल प्रदर्शनी भने उहाँको पहिलो हो।
धनु आर्ट स्टुडियोको आयोजनामा ‘फर यु’ नामक कला प्रदर्शनीमा कलाकार जङ्गका १४ थान कलाकृति प्रदर्शनीमा राखिएको छ। कलाका पारअीहरुमा समर्पित गरिएका उक्त कलाकृतिहरु फूलसँग सम्बन्धित रहेका छन् । यसका साथै दुई थान आँखाको चित्रमार्फत उहाँले विश्वलाई मायाको आँखाले हेर्नुपर्ने सन्देश दिनुभएको छ ।
उक्त समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले खास यो कार्यक्रम प्रतिष्ठानल आयोजना गर्ने खालको रहेको उल्लेख गर्दै श्रोतसाधनको अभावले गर्न नसकिएको र आउँदो दिनमा यस्तो कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समारोहमा सहभागी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई यस्ता खालका कार्यक्रम गर्दा दुई देशबीचको संस्कृति आदानप्रदान हुने र आपसी सम्बन्ध प्रगाढ भई पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
नेपालका अग्रज कलाकार एनबी गुरुङले एक देशका कलाकारले अर्काे देशमा गएर गलासम्बन्धी गतिविधि गर्दा त्यसले दुई देशबीचको सम्बन्ध विस्तार हुनुका साथै पर्यटक विकासमा समेत सहयोग पुग्ने प्रतिक्रिया दिनुभयो ।
उक्त प्रदर्शनीमा क्यान्भासमा एक्रेलिक रङमार्फत कोरिएका सिर्जनाहरु समावेश छन् ।