काठमाडौँ । चाडपर्वका समयमा सुरक्षा व्यवस्था चुस्त पारेको जनाएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुने अनुरोध गरेको छ ।
चाडवाडका वेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।
सोही अनुसार सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि १० बुँदे अपिल जारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ ।
जारी अपिलमा नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन एकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।
यस्तै सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोवाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ ।
लङ्गुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ बन्न, मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ ।