काठमाडौँ : एनआरएनएको नयाँ अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको नयाँ नेतृत्वका लागि हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिष्पर्धामा उत्रिएका हुन्।
अध्यक्षमा डा बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गराएका संघको निर्वाचन समितिले बताएको छ।
केसी हालका कार्यकारी अध्यक्ष हुन्, भने थापा ३ अध्यक्षमध्ये एक हुन्। श्रेष्ठ र शर्मा एनआरएनएका हालका उपाध्यक्ष हुन्।
यसपालीकाे चुनावमा आरके शर्मालाई अध्यक्ष जित्न ठूलाे सकस हुने देखिएको छ । उपाध्यक्षको कार्यकालमा खास उल्लेख्य भूमिका खेल्न नसकेकाे र विगतको इतिहास हेर्दा पनि उनका लागि जित निक्कै गाह्रो देखिएको सम्मेलनमा सहभागी एक सदस्यले जानकारी दिए ।
त्यही सकसका कारण उनले अरुले भन्दा प्रचारलाई प्रचारात्मक कार्यक्रमलाई तीव्र बनाएका सहभगी सदस्यहरु बताउँछन् । उनी २४ महिनाको २४ वाचा नै सार्वजनिक गरेर आक्रामक प्रचारमा लागेका छन् । उनले जीतका लागि अझै ठूलो संघर्ष गर्नुपर्ने देखिएको छ ।
महाधिवेशनबाट कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन हुनेछन्। चार दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन आज राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने एनआरएनएले जनाएको छ।
संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था गरिएको छ । निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुने छन्। प्रत्यक्ष रुपमा भने एक हजारले सहभागिता जनाउने अनुमान गरिएको छ।
मतदानस्थलमै उपस्थित भएका मतदाताहरुका लागि अनलाईन भोटिङको व्यवस्था गरिएको छ। महाधिवेशनकै बीच विशेष सत्रको आयोजनासमेत गरिएको सापकोटाले बताए।
चरम राजनीति
एनआरएन पूर्ण रूपमा सामाजिक संस्था भनेर प्रचार गरिए तापनि निर्वाचनमा भने चरम राजनीति हुँदै आएको छ । यसअघिको १०औँ महाधिवेशन संघभित्र राजनीति हाबी हुँदा तोकिएको समयमा निर्वाचन नै हुन सकेन ।
राजनीतिक कारणले संघ फुटेर दुई टुक्रा भएको थियो ।
तोकिएको अवधिभन्दा ६ महिनापछि मात्रै अध्यक्षका प्रत्याशीबीच सहमति भएको थियो । सहमतिबाट संघकै इतिहासमा तीनजना अध्यक्ष चुनिएका थिए । एकजनाले ६ महिना कार्यकारीको भूमिका निर्वाह गर्ने गरी तीनजना अध्यक्षबीच सहमति भएको थियो । यसले एनआरएनएको छवि नै धुमिल बनाएको थियो ।
अहिले पनि बद्री केसी एमाले, महेश श्रेष्ठ कांग्रेस र आरके शर्मा माओवादीका प्रतिनिधिका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु प्यानल नै बनाएर अघि बढेका छन् ।