काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपालले चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका २९ हजार १५४ जना सशस्त्र प्रहरी कर्मचारीहरु सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् भने तत्कालै खटाउन सक्ने गरी करिब २ हजार ९ सय २९ जना सशस्त्र प्रहरी कर्मचारी तयारी अबस्थामा राखिएको छ ।
करिब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।
चाडपर्वको समयमा सीमावर्ती ईलाका तथा अन्य स्थानहरुमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत रही चाडपर्व विशेष सुरक्षा योजना तयार पारिएको उहाँले बताउनुभयो ।
देश भरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतवितमा परेका नागरिकको उद्वार कार्यमा सहयोग पु¥याउने अभिप्रायले भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) यसअघि नै स्थापना गरी कार्यारम्भ गरिएको छ ।
झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचाहन गर्नसक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ ।
दशै, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुने सक्ने आपराधिक क्रियाकलापहरुको रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाईन्ट ड्यूटी खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना लगायत दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आईआरटी टोली परिचालित हुने सशस्त्र प्हरीले जनाएको छ ।
प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरी बल नेपालले धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङ्गको भालुवाङ्ग, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी ८ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन वेशमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको जनाइएको छ ।
स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न ८ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाईते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेईकल (एमसीबी) समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले तयार गरेको योजनाअन्तर्गत ५ सय ६३ स्थानमा पैदल गस्ती, ३ सय ६६ स्थानमा मोवाईल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दुरीको गस्ती), २ सय ९ स्थानमा क्युआरटी र ३ सय ७३ स्थानमा चेकप्वाईन्ट तथा पिकेट ड्यूटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ हुनेछ ।
उक्त ड्यूटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानी लक्षित सुरक्षा योजनाको संवेदनशिलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानहरुमा ५ वटा अनुगमन टोलीसमेत परिचालित हुने योजना रहेको छ ।