चितवन । सुपथ मुल्य पसल होस् वा आयो नुनको सचेतना कार्यक्रम या अन्य घुम्ति सेवा । सबैमा सधैँ अब्बल रहने गरेको चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशनले पनि आजदेखि सुपथ मुल्यको पसल शुरु गरेको छ ।
सर्वसाधारणलाई ध्यानमा राख्दै दशैँ, तिहार, छठलगायत चाडपर्वको उपलक्ष्यमा सहुलियतदर (सुपथ मुल्य)को पसल सञ्चालन गर्ने सरकारको नीति अनुसार आज चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नारायणगढमा सुपथ मूल्यको पसल उद्घाटन गर्नुभएको थियो ।
आजदेखि मंसिर ३ गतेसम्म पसल सञ्चालन हुने छ । साल्ट ट्रेडिङ कर्पाेरेशन चितवनका प्रमुख बुुद्धिविनोद दाहालका अनुसार यसपाली आयो नुन प्रतिप्याकेट १८ मा पाइने छ ।
यसपाली नुन बढीमा ६ किलो, तेल ४ लिटर, चिउरा ४ किलो, उपलब्ध हुने छ । अन्य सामानहरु मैदा, पिठो, चियापत्ती, दाल, गेडागुडी, मसला, सोयाविन, साबुनआदि उपभोक्ताले आवश्यकताका आधारमा खरिद गर्न सक्ने दाहालले बताउनुभयो ।
सहुलियत मूल्यको पसल उपभोक्ताको सहजीकरणका लागि हरेक वर्ष चितवनमा सञ्चालन हुँदै आएको छ । दशैंँ तिहार र छठका बिदामा भने पसल बन्द रहने कर्पाेरेशनले जनाएको छ ।
अहिले चिनी आउने क्रममा रहेकाले आएपछि बिक्री गरिने कार्यालय प्रमुख दाहालले बताउनुभयो । आज खोलिएको पसलबाट पहिलो दिन एक लाख ३२ हजार बढीको बिक्री भएको छ ।
उहाँका अनुसार आयो नुन ५२३ किलो, चिउरा ६२ किलो, तेल १९ लिटर बिक्री भएको छ।