काठमाडौँ । कम वर्षा हुने अनुमानका बीच ठूलो जनधनको क्षति गराएर यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको शुरु गरेको छ । अन्तिम समयमा पनि नेपालभर भारी वर्षा गराएर मनसुन बाहिरिन थालेको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माशाखाका अनुसार शुक्रबार साँझबाट मनसुन बाहिरिन थालेको हो । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले बुलेटिन सार्वजनिक गरी जानकारी दिएको छ ।
नियमितरुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसपाली निर्धारित मितिभन्दा चार दिन ढिला गरी मनसुन बाहिरिन शुरु गरेको हो । जल तथा मौसम विज्ञान विभागले अक्टोबर २ मा मनसुन बाहिरिने औषत मिति अनुमान गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्ष अघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन अक्टोबर २ लाई अनुमान गरेको थियो ।
यस यसपाली अक्टोबर २ पछि भने झन् सक्रिय भएर देशैभरी वर्षा भएको थियो । वरिष्ठ मौसमविद् वरुण पौडेल जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो ।
यो वर्ष नेपालमा जनु १४ अर्थात जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको ९ दिन पछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो ।
शुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भुभाग र बागमती प्रदेशका अधिकांश भूभागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको शुरुवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आँकलन समेत गरिएको थियो ।
औषतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायतका केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ ।