खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आजदेखि ‘मुन्धुम अन्तरर्राष्ट्रिय कला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ । स्वदेशी र विदेशी गरी ४० बढी कलाकारहरु आज खोटाङको दिक्तेल पुगिसकेका छन् । कलाकारलाई स्थानीयले मौलिक साँस्कृतिक झाँकीसहित भव्य स्वागत गरेका छन् । कला उत्सवका लागि सो क्षेत्रलाई सिंगारिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यही असोज २१ गतेसम्म कार्यक्रमको आयोजना गरिएको हो ।
मुन्धुम अन्तरर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत १४ देशका ४० ख्यातिप्राप्त चित्रकारको सहभागिता रहेको छ ।
नगरपालिकाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिने पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनीअन्तर्गत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
चित्रकारले उतारेका क्यानभास पेन्टिङ असोज २० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा प्रदर्शनीसहित स्थानीय परिकारका व्यावसायिक कक्ष, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनलगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभई जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा पुगेका चित्रकार, अतिथिलगायतलाई दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्वार तयार पारिएको छ । बजार तथा सडक सरसफाइ गरेर सजाइएका छन् । चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँमा पनि प्रदर्शनीको योजना बनाइएको धनु आर्ट स्टुडियोका अध्यक्ष धनुबहादुर याख्खाले जानकारी दिनुभयो ।
खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको कलाकारले सिर्जनामा उतार्नेछन् ।
लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने बरिष्ठ कलाकार एनवी गुरुङले बताउनुभयो । चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका सिर्जनालाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।
गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय तथा पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण एवम् छनोट गरिएको छ ।
यस्तै जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बिरसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ । नगरपालिकाको प्रमुख प्रवेशद्वार महुरेगढीबाट सुरु भएर विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमको पहिलो दिन आज अपराह्नबाट बजार परिक्रमा तथा विदेशी कलाकारलाई सांस्कृतिक झाँकीसहित भव्य रुपमा स्वागत गरिएको थियो ।