काठमाडौँ । विदेशी वैज्ञानिकहरुको सहभागितामा चट्याङ, यसको पूर्व सूचना प्रणाली र रोकथामका विषयमा नेपालमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा शुरु भएको छ ।
तीन दिने सम्मेलनको उद्घाटन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका विज्ञान तथा प्रविधिसचिव प्रमिला देवी बज्राचार्यले चट्याङ जस्तो गम्भिर विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुने महत्वपूर्ण भएको बताउनुभयो ।
सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले मन्त्रालयबाट हुने आवश्यक साथ सहयोग रहने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विज्ञहरुलाई भोलि थप छलफलका लागि मन्त्रालयमा बोलाउनुभएको समेत आयोजक प्रतिनिधि तथा वरिष्ठ चट्याङविद् प्राडा श्रीराम शर्माले बताउनुभयो ।
तीन दिने सम्ममेलको आज उद्घाटनका दिन २० वटा सोधपत्रमाथि छलफल भएको छ । जसमा १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गर्नुभएको शर्माले राससलाई बताउनुभयो । सम्मेलनमा कुल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् ।
अज जलवायु परिवर्तन, चट्याङगबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा गम्भिर छलफल भएको पनि शर्माले बताउनुभयो । यस्तै चट्याङको पूर्व सूचना प्रणालीका विषयमा समेत प्रस्तुत सोधपत्रमाथि पनि छलफल भएको थियो ।
ललितपुरको पुलचोकमा जारी सम्मेलनमा करिब १०० जना प्रतिनिधिहरुको सहभागिता छ। सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञहरुको सहभागिता छ ।
यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयहरुका बारेमा छलफल भइरहेको छ । मुख्य गरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माले जानकारी दिनुभयो ।
चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुक मध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको पनि उहाँले बताउनुभयो । औषत वार्षिक १०० जनाले चट्याङज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेका पनि उहाँले बताउनुभयो ।