काठमाडौं : काठमाडौँ उपत्यका प्रहरी कार्यालय चाडपर्वका समयमा काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको छ ।
कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले आज सुरक्षा योजनाका विषयमा उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर सुरक्षा योजना तयार गरी लागू गर्न निर्देशन दिनुभएको छ ।
उहाँले सबै युनिटबाट आएको प्रस्तावित सुरक्षा योजनालाई कार्यालयबाट थपघट गरी लागू गर्ने पनि जानकारी दिनुभयो । उपत्यकामा स्थानीय प्रशासन र सबै सुरक्षा युनिटकै समन्वयमा एकीकृत सुरक्षा योजनासमेत निर्माण हुने र प्रहरी युनिटले पनि आफ्नै तरिकाले सुरक्षा योजना तयार पारी लागू गर्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यालयले उपत्यकाको मातहतका युनिटहरुलाई चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न समेत सर्कुलर जारी गरेको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताउनुभयो । उहाँका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् ।
यसअघि यही असोज ८ गते नै चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युटिनहरुमा सर्कुलर जारी गरिसकेको छ । सोही आधारमा उपत्यका प्रहरी पनि सुरक्षा योजना निर्माण गरी लागू गर्ने चरणमा रहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको विष्लेषण गरी निगरानी बढाइने बताउनुभयो । उहाँले यो समयमा रिजर्वमा रहेको फोर्सलाई समेत परिचालन गर्न थालिएको जानकारी दिनुभयो ।