काठमाडौँ नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित १०० जनाको सहभागिता रहने र उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान लगायतका देशबाट विज्ञहरुको सहभागिता रहने छ ।
यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयहरुका बारेमा छलफल हुने छ ।
मुख्य गरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तुत हुने ४४ सोधपत्र मध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङका सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन ।
चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुक मध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको पनि उहाँले बताउनुभयो ।
औषत वार्षिक १०० जनाले चट्याङज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेका पनि उहाँले बताउनुभयो ।