काठमाडौँ । राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी आज सिरहा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
विभागले सिरहाको माडर बस्ने ४७ वर्षका प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका १५ कालीचौकमा भारर्तबाट नेपालतर्फ आउँदै गरेको विआर ७ सि ४२२४ नम्बरको कारलाई रोकी जाँच गर्ने क्रममा उक्त कारको चालक बस्नेतर्फको २ वटा सीट मुनी एक हजार दरका ३ हजार ४०० थान थान (रु ३४ लाख) र ५०० दरका दुई हजार थान (रु १० लाख ) फेला पारी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।
त्यसपछि विभागले गरेको सुक्ष्म अनुसन्धानमा प्रतिवादीहरु प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानूनी रूपमा ईजाजत प्राप्त नगरी प्रतिवादी प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट उक्त रकम ल्याएकाे पाइएकाे अधिकारीले बताउनुभयो ।
विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्य प्रतिवादीहरुलाई दिन बुझाउन बाँकी रहेको रकम रु ८३ लाख ३८ हजारसमेत गरी जम्मा रु एक करोड २७ लाख ३८ हजार बरामद गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रतिवादी अरुण यादवको हकमा रु ८ करोड करोड ६५ लाख ६० हजार र प्रतिवादी पवनकुमार यादवलाई रु ५ करोड ८ लाख ८८ हजार गरी जम्मा बिगो रु १५ करोड एक लाख ८६ हजार ८०० बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दावी छ। सोही बिगो कायम गरी मुद्दा चलाइएको हो।
प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ग (ग) बमोजिमको कसूर गरेको वारदात पुष्टि हुन आएका विभागले जनाएको छ ।