काठमाडौँ ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाध्यास अति जरुरी रहेको बताउनुभएको छ ।
गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको उम्दघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले योगले स्वस्थ मन र स्वस्थ तन बनाउने बताउनुभयो ।
उहाँले जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनावबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता रहेको बताउनुभयो ।
चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको बताउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने बताउनुभयो ।
राजनीति कार्यकर्ताहरुलाई सिक्ने, अध्ययन गर्ने, अभ्यास गर्ने कुरामा कमि भएको स्वीकार गर्दै राष्ट्रपति पौडेलले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने बताउनुभयो । आफुले थोरै प्रणायाम गर्दा पनि त्यो महसुस गरेको उहाँको भनाइ थियो ।
धन दौलत कमाएर, लोभ गरेर, आशक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखि बनाएको बताउँदै उहाँले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तरगत यो कार्यक्रम शुरु गरिएको बताउनुभयो । यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँले अपराध नियन्त्रण तथा सेवा दिने काम हुँदाहुँदै गृहअन्तरगतका निकायले आफ्नो कार्य क्षेत्रमा कामलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि योगलाई प्राथमिकता दिन लागिएको बताउनुभयो ।
उहाँले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा अफिस समयको शुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको बताउनुभयो ।
शुसासन अभियानका लागि पनि योग र ध्यानको अभ्यास जरुरी रहेको उहाँले बताउनुभयो ।
उक्त अभियान अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र उर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ ।