काठमाडौँ ३ असोज । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ।
शिक्षकहरुले आज माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरे । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था दिनभर अस्तव्यस्त बन्यो। गन्तव्यमा हिँडेका यात्रुहरु घुम्दाघुम्दै हैरान भए। जता गए पनि ट्राफिकले बाटो बन्द गरेर हिँड्न दिएन ।
आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । यता काठमाडौँ महानगर लगायत विभिन्न स्थानीय तहले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासंघ आन्दोलनमा उत्रेको हो । बार्तामा नजाने अनि आन्दोलन गर्ने ? भनेर बटुवा तथा यात्रुले प्रश्न गरिरहेका थिए।
महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै आन्दोलन सुरु गरेको उनीहरुको दावी छ। गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।
मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । यता काठमाडौँ महानगर लगायत विभिन्न स्थानीय तहले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिइसकेको छ ।