मुग्लिन : चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ।
चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ को शुरु गरिएको छ ।
उद्घाटन समारोहलाई बागमती प्रदेश सरकारका पूर्व तथा वातावरण मन्त्री, चितवन क्षेत्र २ (क)का सांसद, माननीय कृष्ण सिलवालले उद्घाटन गर्नुभएको थियो ।
चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि माननीय सिलवालले इच्छाकामनाको मुग्लिङले होटल तथा आतिथ्यता क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो ।
उहाँले यहाँको भौगोलिक, सामाजिक र साँस्कृतिक विविधताले यस क्षेत्रको महत्व रहेको बताउनुभयो । सिलवालले सुन्तला महोत्सव तथा फुड फेष्टिवलले यहाँका सुन्तला कृषक र यहाँका रैथाने खानाको प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै मुख्य प्रवद्र्धक संस्था, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले यस महोत्सवले इच्छाकामना लगायत छिमेकी गाउँपालिकामा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरी यसलाई राष्ट्रिय स्तरमा चिनाउने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गराई छोटो वितरण माध्यम मार्फत र कृषकलाई उचित मूल्य दिलाउने आधार तयार गरी सुन्तला कृषिकलाई व्यवसायिक सञ्जालमा जोडी दिगो उत्पादन लाग्न प्रेरित गर्ने र सुस्त भएको बजारलाई महोत्सवको माध्यमबाट आर्थिक रूपमा चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले आतिथ्यता क्षेत्रमा मुग्लिङ बजारले देशव्यापी रुपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्न टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै, होटल व्यवसायी संघ, चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गरी स्थानीय परिकार र होटल व्यवसायको सेवा सुविधाको बजारीकरण गर्न र महोत्सवले स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ” गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा टेवा पुग्ने बताउनुभयो ।