काठमाडौँ, १२ पुस : देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको छ । ती घटनामा अन्य ९ जना घाइते भएएका छन् ।
अधिकाँश घटना आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले दैनिक नै आगलागीका घटना भएको र पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु समेत भएको जानकारी दिनुभएको छ ।
प्राधिकरणका अनुसार हुम्लाको खर्पुनाथ गाउँपालिकामा २ स्थित एक घरमा अचानक आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । तीन जना घाइते भएकामा अन्य २ जनाको उपचार जारी रहेको बताइएको छ ।
यस्तै मधेश प्रदेशको धनुषास्थित महादेव गाउँपालिका २ वस्ने २२ वर्षकी एक महिला ग्यासमा पानी तताउने क्रममा भाँडा समाउने झुम्रोमा आगो सल्किन गई कपडामा पुग्दा मृत्यु भएको छ । उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो ।
प्राधिकरणका अनुसार सुनसरीको भोक्राहामा घूर बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किँदा एक महिला घाइते भएकी छिन् । यस्तै सप्तरीमा पनि घुर ताप्ने क्रममा नै साडीमा आगो सल्किएर महिला घाइते भएकी छिन्। यस्तै महोत्तरीमा पनि साडीमै आगो सल्किएर महिला घाइते भएकी छिन् ।
यस्तै रौतहट, पर्सा, दोलखामा पनि आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर एक÷एक जना घाइते भएएका छन् । भक्तपुरमा आगो ताप्ने क्रममा एक ११ वर्षीया बालिका घाइते एकी छिन् ।
मोरङ र दाङमा भने जनावरको आक्रमणबाट २ जना घाइते भएका छन् ।