कोरला । हिउँदयामको चिसोमा माथिल्लो मुस्ताङका बासिन्दा धमाधम बेँशी झरिरहेका भए पनि कोरला नाकामा भने विद्युतीय सवारीसाधन र वस्तुको आयात/निर्यात कायमै रहँदा कारोबार र चहलपहल घटेको छैन । हिउँदको चिसो बढ्दा समेत चीनबाट विद्युतीय सवारीसाधन धमाधम आइरहँदा यो नाकामा चहलपहल बढेको हो । ४ हजार ६१० मीटर उचाइमा अवस्थित कोरला नाकामा विहान र वेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म झर्ने गरेको छ ।
गएको भदौ ३० गते सञ्चालनमा आएको मुस्ताङको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट पुस १० गतेसम्ममा ११ अर्ब १ करोड ९५ लाख रुपैयाँबराबरको सामान आयातनिर्यात भएको छ । यसमध्ये १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँबराबरको सामान आयात भएको छ ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार नेपाल–चीन सीमास्थित कोरला भन्सारबाट १० पुससम्ममा आयात र निर्यात गरी सो रकम बराबरको कारोबार भएको छ । उनका अनुसार कोरला नाकामा भन्सार कार्यालय सञ्चालन भएदेखि अहिलेसम्म चीनबाट १० अर्ब ८२ करोड ९८ लाख रुपैयाँको मालवस्तु नेपाल भित्रिएको छ ।
नेपालबाट भने हस्तकलालगायतका नेपाली उत्पादन १८ करोड ९७ लाख ७८ हजार रुपैयाँबराबरको सामान चीनतर्फ निर्यात भएको छ । कार्यालय प्रमुख खड्काका अनुसार कोरला नाकाबाट अहिलसम्म २ हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
गत आइतवारदेखि यो नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन धमाधम नेपाल आइरहेका छन् । भन्सार प्रमुख खड्काका अनुसार विद्युतीय सवारीसाधनबाहेक अहिलेसम्म दिनहुँ १०/१२ ओटा मालवाहक कन्टेनर सामान आयातनिर्यात भइरहेको छ ।
भन्सार कार्यालयका अनुसार पुस लागेपछि बिवाइडी कम्पनीले कोरला हुँदै ५ सयभन्दा बढी विद्युतीय सवारीसाधन चीनबाट आयात गरेको छ । उसले ल्याएकामध्ये ३०० भन्दा बढी विद्युतीय सवारीसाधान भन्सार जाँचपास भई गन्तव्यतर्फ गइसकेका छन् ।
कोरलास्थित भन्सार कार्यालयका अनुसार यहाँबाट जाँचपास भई आयातनिर्यात भएका सामान र विद्युतीय सवारीसाधनबाट ५ अर्ब ६ करोड ६२ लाख रुपैयाँ राजस्व उठेको छ ।
कोरलास्थित भन्सारबाट जाँचपास गरिसकेर विद्युतीय सवारीसाधन जोमसोम हुँदै पोखरा लगिन्छ र त्यहाँबाट गन्तव्यतर्फ लगिन्छ । कोरला नाका हुँदै भित्रिने विद्युतीय सवारीसाधनलाई पोखराबाट चालकहरूले सम्बन्धित कम्पनीको शोरुमसम्म पुर्याउने गरेका छन् । विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी–जोमसोम–कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरूसमेत व्यस्त भएका छन् ।
मौसम निकै चिसो भएकाले कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनबाट धमाधम वस्तु तथा विद्युतीय सवारीसाधन भित्रिइरहँदा कोरला नाका चालू नै रहेको हो ।