काठमाडौँ, १० पुस : बाह्रखरी कथा प्रतियोगितामा युवा साहित्यकार शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम हुँदै रु २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
बाह्रखरी मिडियाद्वारा आज काठमाडौँमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ भने ईन्द्रप्रसाद गोतामे (जगतजङ)द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । दोस्रो भएसँगै गुरुङलाई रु १ लाख र गोतामेलाई ६० हजार पुरस्कारबाट सम्मान गरिएको छ ।
समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
बाह्रखरी मिडियाद्वारा काठमाडौँमा आज आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ विजेता घोषणा, पुरस्कार वितरण तथा कथासङ्ग्रह विमोचन समारोमा उत्कृष्ट २५ कथाहरुलाई पनि रु ७ हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।
बाह्रखरी मिडियाका अध्यक्ष तथा सम्पादक प्रतीक प्रधानले उक्त प्रतियोगितामा एक हजार १६८ कथाहरुले भाग लिएको जानकारी दिनुभयो । उहाँले सातौँ शृङ्खलासम्म आउँदा थप उत्साहित बनाएको र साहित्यकारमा पनि उर्जा मिलेको महसुस भएको प्रतिक्रिया दिनुभयो ।
प्रतियोगिताको निर्णयक समितिका संयोजक अशेष मल्ले नेपाली साहत्यिमा नयाँ पुस्ता आएको यो प्रतियोगिताले प्रष्ट पारेको बताउनुभयो ।
डिस होम मिडियाका अध्यक्ष हेमराज ढकालले, अङ्ग्रेजी साहित्यका लेखक सम्राट उपाध्यायले कथा लेखन प्रतियोगिताले साहित्यकारमा हौसला प्रदान भएकाले यस्ता कार्यक्रम भइरहनुपर्नेमा जोड दिनुभयो ।
सो क्रममा प्रधानमन्त्री कार्कीले कथासंग्रहको विमोचनसमेत गर्नुभएको थियो । गत वर्ष प्रथम हुनेलाई एक लाख पुरस्कार दिइएकामा यसपालि बढाएर २ लाख पुर्याइएको सो कार्यक्रममा जानकारी दिइएको थियो । बाह्रखरी मिडियाले २०७५ सालदेखि कथा प्रतियोगिता गर्दै आएको छ ।