काठमाडौँ, ९ पुस : विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेर जनजीवन प्रभावित बनाएपछि त्यसबाट नागरिकलाई जोगाउन आवश्यक पहल थालिएको छ ।
अझै केही दिन हुस्सु कुहिरो जारी रहने भन्दै जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गरेपछि त्यसको तयारीमा विपद प्राधिकरणले काम अघि बढाएको हो ।
प्राधिकरणले चिसो तथा शीतलहरबाट नागरिकको ज्यान जोगाउन विभिन्न ६ बुँदे अनुरोध जारी गर्दै जोखिममा रहेका नागरिकको आवश्यक व्यवस्थापनमा जुटन भनेको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले अबको केही दिन तराईमा हुस्सु÷कुहिरो÷शीतलहरको चेतावनी तथा परामर्श जारी गरेकाले सोही आधारमा तत्तत् निकायलाई आवश्यक तयारीमा जुट्न ६ बुँदे अनुरोध जारी गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार जारी अनुरोधमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र सोको आधारमा प्राधिकरणबाट जारी हुने सूचना एवं जानकारीका आधारमा आवश्यक कदम चाल्न तयारी अवस्थामा रहन भनिएको छ ।
कार्यक्षेत्रअनुसार शीतलहरबाट बच्ने उपायहरूका बारेमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न, जोखिमपूर्ण संकटासन्न समुदायका व्यक्तिहरूलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर इत्यादिमा राख्ने प्रबन्ध गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।
यस्तै शीतलहरका बेला न्यानो गराउने अन्य उपयुक्त विकल्प नभएको खण्डमा सम्बन्धित डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहसँग समन्वय गरी दाउरा उपलब्ध हुने व्यवस्था मिलाउन सहयोग गर्न पनि भनिएको छ ।
प्राधिकरणलगायतका निकायबाट शीतलहर सम्बन्धमा उत्पादित सचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू सञ्चारका संभाव्य सबै माध्यम प्रयोग गरी समुदाय तहसम्म पुग्नेगरी प्रकाशन तथा प्रसारण गर्न पनि अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले अबको केही दिन दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायतका क्षेत्रमा प्रभाव पर्ने जनाएपछि त्यसबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको पनि प्रवक्ता महतले बताउनुभयो ।
शीतलहरबाट गरिब तथा विपन्न वर्गका नागरिकहरू बढी प्रभावित हुने गरेको विगतका तथ्याङ्कहरूबाट देखिन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरोकारवाला सबै निकायसँगको समन्वय, सहकार्य र सहभागितामा ’शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा भई कार्यान्वयनका लागि सबै निकायमा संप्रेषण भइसकेको छ ।
प््राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित सबै निकायले कार्ययोजनामा उल्लेख भएअनुसार आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नु गर्न अनुरोध छ । सबै निकायले कार्ययोजनाअनुसार पूर्वतयारी गर्नुपर्ने र कार्यक्षेत्रमा पर्ने प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा पूर्वानुमानअनुसार आवश्यक पूर्वकार्य एवं प्रतिकार्य गर्नुपर्ने देखिएको छ ।”
हाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको र विपद् व्यवस्थापनसम्बन्धी कार्य तीनवटै तहका सरकारको समन्वय, सहकारिता तथा सहभागितामा गर्नुपर्ने संविधानको मर्म र भावना अनुसार ’शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ मा स्थानीय तहको भूमिका अहम् हुने गरी क्रियाकलापहरु तय गरिएको छ ।
स्थानीय तहले वडा कार्यालय र समुदायमा आधारित संस्था तथा समूहहरु समेतलाई सक्रिय बनाई शीतलहर पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्य गर्नुहुन एवं जिल्ला विपद् व्यवस्थापन समितिले शीतलहर पूर्वतयारी तथा प्रतिकार्यमा स्थानीय तहलाई भरपूर साथ तथा सहयोग पुग्ने गरी काम गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा मात्र शीतलहर पूर्वतयारी तथा प्रतिकार्य संभव नभएको अवस्थामा प्रदेश सरकार र संघ सरकारको सहयोगका लागि अनुरोध गर्न पनि प्राधिकरलो सबैमा पत्रमार्फत अनुरोध गरेको छ ।
न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्रीहरू तयारी अवस्थामा राखी आवश्यक परेको खण्डमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई वितरण गर्ने एवं शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य केन्द्रित क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।