काठमाडौँ, ८ पुस : पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराइका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालयहरु बन्द हुन थालेका छन् ।
हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ ।
सोही क्रममा काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै २ डिग्रीले घटेको छ ।
हिजो ६.८ न्यूनतम तापक्रम रहेकोमा आज घटेर ४.९ डिग्रीमा झरेको छ । यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको पनि उहाँले बताउनुभयो । मंसिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको थियो ।
उहाँका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । हिमाली क्षेत्रमा मौसम सफा रहेको छ । पानी र हिमपात बढी हुनु सम्भावना नरहेको पनि उहाँले बताउनुभयो ।
मौसमविद् दाहालले भन्नुभयो, “तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन । पश्चिमी वायु सक्रिय हुन सकेको छैन । राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो ।”
आज सबैभन्दा कम जुम्लामा माइनस ३ डिग्री रहेको छ ।