काठमाडौँ : पर्वत कुश्माको शताब्द्धि घर कलामय बनेको छ। कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै विभिन्न आकृतिले क्यानभास सजाए।
प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतवार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो ।
उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् ।

तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २५० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे । परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । “कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो”, उहाँले भन्नुभयो ।
धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उहाँको भनाइ छ । परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताउनुभयो ।

“कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।” कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताउनुभयो । उहाँले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाउनुभयो ।
नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताउनुभयो ।
कार्यशालामा बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो ।
