काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बहानामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।
यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ।
पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे।
‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौँ। हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला।’
यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।
‘यदी तपाईंहरूले संविधान बार बार मिच्ने कोशिस, एकचोटि त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ’ प्रचण्डले भने, ‘यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं। केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस्।’