काठमाडौँ, ३ पुस : नेपाल प्रहरीले स्पार होटलबाट ८ बालिकाको उद्धार गरेको छ ।
यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा ५ जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले ाजनकारी दिएको छ ।
ब्यूरोले आज सार्वजनिक गरेको जानकारी अनुसार अनुसन्धानका क्रममा उनीहरुले नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।
सोही क्रममा ती होटल र स्पाबाट ८ बालिकाको उद्धार पनि गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ घर भएकी ४० वर्षीया गीता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका–६ घर भएका ४९ वर्षीय भीमबहादुर साउद रहेका छन् ।
काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरुलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो ।
प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ती बालिकाको उद्धार गरेको पनि प्रवक्ता खड्काले बताउनुभयो ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।