काठमाडौँ, ३ पुस : सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ ।
जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तिव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणित गर्ने छ ।
कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइते लाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।
वर्गीकरण भएका घाइते मध्ये, गम्भीरले मासिक ९ हजार रुपियाँ र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ता बापत मासिक १८ हजार रुपियाँ पाउने व्यवस्था गरिएको छ ।
यस्तै कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक ४ हजार रुपियाँ भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।
मंसिर अन्तिममासम्ममा तीन जिल्लाका (काठमाडौँ, कास्की र चितवन) १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् ।
काठमाडौँमा कुल १६९ घाइतेको वर्गीकरण भएको मध्ये, १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम घाइते र ६४ जना सामान्य घाइतेमा वर्गीकरणमा परेका छन् । यस्तै, कास्की जिल्लामा हालसम्ममा ७ जना घाइतेहरू वर्गीकृत भएका मध्येमा, अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना, मध्यममा शून्य र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरणमा भएका छन्।
यसै गरी, चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः तीन र चार जना वर्गीकृत भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालको तदारुकता र जेन–जी घाइतेहरूको जनभावना अनुरूप घाइतेहरूको वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरणको कार्यलाई तीव्रता दिन निर्देशन भए बमोजिम हाल वर्गीकरणको कार्य तीव्र गतिमा अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ ।
विभिन्न अस्पतालहरूबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको विवरण अनुसार देशभर घाइतेहरूको कुल सङ्ख्या २ हजार ५२२ रहेका छन् ।