काठमाडौँ, २ पुस : नेपाल प्रहरीले बदलिँदो परिस्थिति अनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्याङ्कन प्रणाली लागू गरेको छ ।
प्रहरी महानिरीक्षकलाई दैनिक रिपोटिङ हुने गरी उक्त प्रणाली सुरु गरिएको र आज जिल्लाहरुबाट रिपोटिङ समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले राससलाई जानकारी दिनुभयो ।
उक्त प्रणालीका लागि ७० वटा सूचक बनाइएको र प्रहरीको तल्लो इकाइबाट विहान ९ बजेभित्र उक्त प्रणालीमार्फत देशभरको विवरण प्रहरी महानिरीक्षकसम्म आइपुग्ने पनि उहाँले जानकारी दिनुभयो ।
प्रहरीको अन्वेशण विभागले अध्ययन गरेर उक्त प्रणाली तयार पारी पुस १ गतेदेखि लागू गरिएको हा । उक्त प्रणालीका आधारमा हरेक प्रहरी कार्यालयहरुको मूल्याङ्कन हुने छ । त्यसैका आधारमा कुन कार्यालयले कति नम्बर पायो भनेर सबैले देख्न सकिने र त्यही आधारमा पुरस्कार र दण्डको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।
प्रवक्ता काफ्लेले भन्नुभयो, “यसले एक त प्रहरीहरुसमेत प्रतिष्पर्धामा सहभागी हुने छन् भने अनुशासनहीन क्रियाकलापमा संलग्न हुनबाट रोक्न, सेवा प्रभावकारी बनाउन, अपराध अनुसन्धान प्रभावकारी बनाउन, गस्ती परिचालन, राजस्व बढाउने काममा सक्रिय हुनलाई सहयोग गर्ने छ ।”
७० वटा सूचक बनाएर कार्यान्वयन गरिएको र त्यसमा नम्बरिङ समेत गरिने छ । जनताका ग्ुनासा कति सम्बोधन गरियो । कसरी गरियो सबै कुराहरु समावेश हुने गरी प्रणालीको विकास गरिएको छ ।
उहाँका अनुसार आज दिनभरीको गतिविधि भोलि विहान ७ बजे प्रहरी र गणले प्रदेश प्रहरीलाई रिपोर्ट गर्नेछन् । प्रदेशले एकीकृत गरेर हेडक्वाटरको प्रदेश समन्वय विभागलाई पठाउने छ र विभागले विहान ९ बजे प्रहरी महानिरीक्षकको सचिवालयमा रिपोर्ट गर्ने छ ।
यसले चेनअफ कमान्डमा नबस्ने, सरुवा बढुवाको भनसुन गर्ने र नीति नमान्नेहरुलाई कारबाही गर्न र राम्रो गर्नेलाई पुरस्कृत गर्न सहज हुने प्रहरीको विश्वास छ ।