काठमाडौँ, १ पुस : यही पौष ११ देखि १३ गतेसम्म चितवनको सौराहामा १९औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।
क्षेत्रीय होटल संघले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
चितवनमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन आयोजना हुने चितवन हात्ती तथा पर्यटन महोत्सवले ३० प्रतिशतसम्म पर्यटक आगमन बढाएको आयोजक संघका महासचिव महेश खनालले जानकारी दिनुभयो ।
हरेक वर्ष पाँच दिन हुँदै आएको महोत्सव यसपाली तीन दिनमा झारिएको छ । महोत्सवलाई गुणस्तरीय बनाउनका लागि तीन दिन झारिएको महोत्सव संयोजक गुणराज थपलियाले बताउनुभयो । महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
महोत्सवअन्तर्गत मुख्य आकर्षणमा यसपाली हात्तीको पुजा गरिने भएको छ । गणेशका रुपमा सम्झिने भएकाले विधिपूर्वक यसपालि हात्तीको पूजा गर्न लागिएको हो ।
हात्तीको पूजाका साथै हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी, पालिकास्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करिब ८० वटा हात्तीहरुद्वारा शोभायात्रा निकालिने संघका अध्यक्ष ओमप्रकाश पाण्डेले बताउनुभयो । हात्तीको पूजा कार्यक्रम अहिलेसम्म गरिएको थिएन ।
महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवद्र्धनका लागि अतिथिहरुलाई हात्ती, जिप र डुङ्गा सफारी गराउने कार्यक्रम समेत रहेको महासचिव खनालले बताउनुभयो ।
महोत्सवमा क्षेत्रीय होटल संघ चितवन र रेवान सौराहाले होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छूटसमेत दिइएको पनि सोही कार्यक्रममा जानकारी दिइएको थियो ।
पत्रकारहरुको प्रश्नमा हात्ती महोत्सव काठमाडौँ समन्वय समिति संयोजक माधव दुवाडीले चितवनको पर्यटनलाई सिद्धयाउनका लागि पशु अधिकारको कुरा गरिएको तर झण्डै करोड पर्ने हात्तीको माया सौराहाका पर्यटन व्यवसायीलाई भन्दा बढी अरुलाई नहुने बताउनुभयो । उहाँले सबै हात्तीमैत्री कार्यक्रम हुने पनि बताउनुभयो ।
क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले पशु अधिकारलाई ख्याल गरेर हात्तीमैत्री कार्यक्रमहरु गर्दै आएको जानकारी दिँदै कसैलाई विश्वास नलागेमा सौराहामा आएर कार्यक्रम हेर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर र होटल संघ नेपाल (हान)का केन्द्रीय महासचिव साजन शाक्यले पर्यटन प्रवद्र्धनका लागि सौराहामा हुन लागेको उक्त महोत्सव नेपालकै महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो ।
उहाँहरुले त्यसलगत्तै पोखरामा समेत महोत्सव हुन लागेकाले यस्ता कार्यक्रम आयोजना हुनु पर्यटन विकासका लागि अपरिहार्य रहेको बताउनुभयो ।