कालिका, मंसिर २९ : चितवनको कालिका नगरपालिकाको रिङरोड भएको गैरीबारी, चापागौंडीदेखि शेरबास जाने कालोपत्रे सडक र पक्की नालाको कालिका वडा नं. ८ गैरीबारीमा शिलान्यास भएको छ ।
कालिका नगरपालिका र बागमती प्रदेश सरकारको बजेटमा १ हजार ६ सय ५० मिटर कालोपत्रे सडक र २ हजार ६ सय ५० मिटर पक्की नाला निर्माण कार्यको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले शिलान्यास गरे ।
नगर प्रमुख रेग्मीले विकास निर्माणको कार्यमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले बैकल्पिक सडक मार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एंव न्यूनीकरण कम गर्न, रणनैतिक हिसावले कालिका नगरपालिकाको आर्थिक रुपमा टेवा पु¥याउने बताए ।
नगर प्रमुख रेग्मीले भने, “यसरी नै नगरले आगामी आर्थिक वर्ष भावि रुपमा कालिकाको शेरबास सम्मै पुग्नेगरी यो बाटो जोड्ने लक्ष्य छ ।”
सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुँने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटाघाटोहरु बिस्तारै बन्दै जाने उनको भनाई छ ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकको लागि पालिकाको रु १ करोड ८० लाख र प्रदेश सरकारको रु १ करोड २० लाख गरी ३ करोडको बजेट परेतापनि जीएराम माता कंकालीनी जेबी चितवनसँग रु २ करोड ३ लाख ९० हजार रुपैँयामा ठेक्का समझौता भएको उनले बताए ।
सो कम्पनिसँग २०८२ मंसिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको इन्जिनियर खतिवडाले बताए ।
नगरपालिकाले कालिका–८ गैरीबारी झरना जाने बाटोलाई पक्की बाटोको रुपमा विकाश गरेको छ ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, नगरका प्रवक्ता लक्ष्मण पौडेल, वडा नं.८ का वडा अध्यक्ष चित्रवहादुर मगर, वडा सदस्य, स्थानीयहरुको सहभागिता रहेको थियो ।