काठमाडौँ, २८ मङ्सिर : नेपाली ललितकलाको महाउत्सव मानिने राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलेले उक्त प्रदर्शनीको मिति सार्वजनिक गर्दै तयारी सुरु भएको जानकारी गराएको छ । आउँदो माघ १५ गते गण्डकी प्रदेशबाट प्रदर्शनीको थालनी हुने घोषण गर्दै प्रतिष्ठानले प्रदर्शनीहरुका लागि कलाकृति बुझाउनसमेत कलाकारहरुलाई आह्वान गरेको छ ।
कलाकै महाउत्सव मानिने उक्त प्रदर्शनी ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) र राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि २०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले प्रदर्शनीका लागि पुस ३० गतेभित्र कलाकृति बुझाउन आम कलाकारहरुमा अनुरोध गरेको छ ।
प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र २०८३ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन भनेको छ ।
प्रदेशका हकमा सम्बन्धित प्रदेशको तोकिएको स्थानमा र राष्ट्रिय प्रदर्शनीका हकमा यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा कलाकृति बुझाउन अनुरोध गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले जानकारी दिनुभयो।
प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने जनाइएको छ ।
कुन प्रदेशका कहिले प्रदर्शनी ?
प्रतिष्ठानका अनुसार गण्डकी प्रदेशको गैंडाकोटमा आउँदा माघ १५ गतेबाट १९ गतेसम्म आयोजना हुने छ ।
यस्तै मधेश प्रदेशको धनुषामा माघ १६ गतेदेखि २० गतेसम्म मैथली विकास कोषसँगको सहकार्यमा आयोजना हुँदै छ । लुम्बिनी प्रदेशको कालिका मानव ज्ञान मावि रुपन्देहीमा माघ १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने छ ।
यस्तै कणाली प्रदेशको कमर्सियल आर्टिष्ट संघसँगको सहकार्यमा माघ १९ देखि २३ गतेसम्म आयोजना हुँदै छ । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा माघ २१ देखि २५ सम्म, कोशी प्रदेशमा माघ २९ गतेदेखि फागुन ४ गतेसम्म आयोजना हुँदै छ ।
यस्तै बागमती प्रदेशको भने फागुन ८ देखि १२ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्यसचिव थुम्केलीले जानकारी दिनुभयो ।
सबै प्रादेशिक प्रदशर्शनी सकिएपछि त्यहाँबाट छानिएका कलाकृति समेटेर भने आउँदो जेठ १५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरिने छ ।
सोही क्रममा कलाकारहरुलाई पुरस्कार तथा सम्मान समेत प्रदर्शन गरिने जनाइएको छ ।
सूचना तल:-

