काठमाडौँ, २६ मङ्सिर : नेपाली आधुनिक कलाको सुभारम्भकालका कलाकार स्व. रामानन्द जोशीको सम्झनामा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा कला विमर्श भएको छ ।
विसं २०४५ सालमै देशावसान हुनुभए पनि उहाँले आफ्नो सक्रिय जीवनकालमा नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । गाउँगाउँमा पुगेर दृष्यचित्रको नौलो प्रयोग गर्ने तथा जलरङलाई माध्याम बनाएर फरक शैलीमा कला सिर्जना गर्ने उहाँको व्यक्तित्व फरक थियो ।
ललितकलाका क्षेत्रमा उहाँले गरेको योगदानको मूल्याङ्कलन गर्दै आज प्रतिष्ठानले आयोजना गरेको ‘रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू’ शीर्षकको कला विमर्शमा सहभागीहरुले जोशीले कलाको विकासका लागि दिएको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममार्फत जोशीलाई बौद्धिकता, प्राज्ञिकतामा विस्तृतमा जोडिएको बताउनुभयो । उहाँले कलाका सन्दर्भमा भारतमा सिकेको व्याकरणलाई नेपालीपनमा ढाल्न सक्नु नै जोशीको कलाको बौद्धिकता भएको बताउनुभयो ।
उहाँले सांस्कृतिक सभ्यता र कला पुँजीको रूपमा रहने बताउँदै ललितकलाको विषय जटिल भएको र यो शास्त्रमा कला पनि भएको हुनाले नयाँ पुस्तालाई मार्गनिर्देश गर्न रामानन्द जोशीको समग्र पक्षको अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रणवमान सिंह र दीपमाला महर्जनले कला विमर्श गर्नुभएको थियो भने उहाँहरूको प्रस्तुतिमाथि कलाकार मुकेश मल्लले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा टिप्पणी गर्दै कलाकार तथा कला समीक्षक मल्लले कलाकार रामानन्द जोशी दृष्य चित्रका प्रवद्र्धकका रुपमा आफूले चिनेको बताउनुभयो । ज्योतिष परिवारको भएका कारण उहाँ तान्त्रिक कलामा समेत पोख्त रहेको मल्लले सुनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले रामानन्द जोशी कलाकार मात्रै नभएर कला अभियन्ता तथा ललितकलाको संस्थागत रूपमा विकास गर्न छुट्टै संस्थाको विकास गरी लैजानुपर्छ भन्ने अग्रज तथा बहुआयामिक व्यक्ति भएको बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवाले आधुनिक शैलीलाई पस्केर बिम्वहरू प्रयोगसँगै आध्यात्मिक रूपमा समेत कलाकारितालाई समावेश गर्न सक्ने कलाकार जोशी नयाँ सुरुवात गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले जोशीका विविध विषयलाई खोजी गरी आर्काइभ गरिनुपर्ने बताउनुभयो ।
प्राज्ञ रतनकुमार राईले जोशीले नेपाली ललितकलाको विकासमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । कला समीक्षक रमेशनाथ खनालले जोशीले प्रयोग गर्ने कला टेक्निक अद्भूत रहेको बताउनुभयो । उहाँले जोशी जलरङलाई पनि सोही अनुसार प्रयोग गर्ने क्षमतावान कलाकार भएको स्मरण गर्नुभयो ।
कलाकार दिवेश प्रधानले कलाकार जोशी तान्त्रिक कलाका साथै दृष्य चित्रका आइडल चित्रकार नै भएको जिकिर गर्नुभयो । विसं १९९५ मा जन्मनुभएका जोशीको २०४५ सालमा निधन भएको थियो ।