काठमाडौँ, मंसिर, २५ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी र प्रादेशिक ललितकला प्रदर्शनीको तयारी सुरु गरेको छ ।
कलाकै महाउत्सव मानिने उक्त प्रदर्शनी ‘रासामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आयोजना गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि २०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले तोकिएको मितिमा कलाकृति बुझाउन आम कलाकारहरुमा अनुरोध गरेको छ।


प्रतिष्ठानले जारी गरेको सूचनामा प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति र २०८३ जेठ १५ गते काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा अप्रतियोगी र आमन्त्रित कलाकृति बुझाउन भनिएको छ।
प्रदेशका हकमा सम्बन्धित प्रदेशको तोकिएको स्थानमा र राष्ट्रिय प्रदर्शनीका हकमा यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा कलाकृति बुझाउन अनुरोध गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले जानकारी दिनुभयो।
प्रतिष्ठानको सूचनामा भनिएको छ, ‘तल उल्लिखित मितिभित्र आआफ्ना कलाकृतिहरू बुझाउन देशभरीका ललितकलाकर्मीहरूलाई हार्दिक आह्वान गरिन्छ।’
यो सूचना प्रतिष्ठानको वेवसाइट www.nafanepal.org र यस प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमासमेत हेर्न सकिने छ।
प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने जनाइएको छ।
आआफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउनसमेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ।