काठमाडौँ, २४ मङ्सिर : संस्कृतिका र सम्पदाका हिसावले महत्वपूर्ण भए पनि ललितकला पत्रकारितामा चुनौतीहरु चाङ हुँदा पत्रकारहरुलाई उक्त बिटमा पत्रकारलाई टिकाराख्न समस्या देखिएको आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीहरुले औँल्याउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार प्रतिष्ठान नक्सालमा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समग्र कला क्षेत्रकै विकासका लागि राज्यको बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको कार्र्यक्रममा कला लेखक तथा राससका पत्रकार एवं अधिवक्ता नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो क्रममा उहाँले कला पत्रकारितामा राज्यको लगानी कम हुनु, कला क्षेत्रका संघसंस्थाको भूमिका न्यून हुनु, कला पत्रकारितमा यस विधाका पत्रकारले आफ्नो भविश्य नदेख्नु र मूलधारका मिडिया सञ्चालक तथा सम्पादकहरुको प्राथमिकतामा नपर्नुले पनि कला पत्रकारिता फष्टाउन नसकेको उल्लेख गर्नुभयो ।
पत्रकार ढुङ्गानाले कला पत्रकारिताको सुरुवाती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्धनमा गर्नुपर्ने कार्यका बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र, आर्ट ग्यालरी तथा कलाका संघसंस्थाहरु र सरोकार निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार सुशिला तामाङले विगतमा मूलधारका पत्रपत्रिकाहरुले कला पत्रकारिताको विधा नै छुट्याएर समाचार दिने गरेको र कला पत्रकारकै रुपमा नियुक्ति दिएका भए पनि कोभिडपछि त्यो विधा नै हटाएका कारण पत्रकारहरु पलायन हुन बाध्य भएको र समाचारहरु आउन पनि घटेको बताउनुभयो ।
उहाँले कला पत्रकारितामा महिला पत्रकारले दिएको योगदान महत्वपूर्ण रहेको बताउँदै कला पत्रकारिताका क्षेत्रको अवस्था सुधार गर्न तथा ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्य तथा तत्तत् निकायबाट नीतिगत तहमै पहलको आवश्यक रहेको बताउनुभयो ।

गोरखापत्रकी पत्रकार चाँदनी हमालले कला, संस्कृति मुलुकको पहिचान भएकाले यसको विकास र प्रवद्र्धनमा कला पत्रकारिताको भूमिका महत्वपूर्ण हुने हुँदा कला क्षेत्रको समस्या समाधानमा सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो ।
राससकी पत्रकार मधु शाहीले कला पत्रकारितामा मुख्य गरी आर्थिक समस्या रहेको औँल्याउँदै राज्य र प्रतिष्ठानले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कला पत्रकार तथा कलाकार दिवेशमान सिंह प्रधानले प्रतिष्ठानले आकृतिको अनलाइन पोर्टल चलाउन सुझाव दिँदै कला पत्रकार टिक्न नसक्नुका कारणबारे कलाकारले नै सोच्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका अहम् रहने बताउनुभयो ।
उहाँले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राख्नुभयो ।
हार्तम्छालीले सामाजिक, सांस्कृति रूपान्तरणमा कलाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसबारेको सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगंगा दर्शनधारीले पत्रकारिताको विकासका लागि भएको छलफलमा महत्पूर्ण भएको बताउँदै आउँदै गरेको बुक्समा पुराना कुरा छुटाउन नहुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार जगत् वाशिष्ठ, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, विनोद कार्की, अध्यापक नवीन्द्र लिम्बु, लेखक नगेन्द्रप्रसाद पौडेललगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
