काठमाडौँ, २३ मङ्सिर : मिथिला कलाका अग्रज चित्रकार एससी सुमनका ‘मिथिला कसमस’को सातौँ शृङ्खला सिद्धार्थ आर्ट ग्यालरीमा आजदेखि सुरु भएको छ ।
उहाँको ४० वर्षे कला यात्राको यो २३औँ एकल कला प्रदर्शनी हो भने मिथिला कसमस ( कल्पवृक्ष) को यो सातौँ शृङ्खला हो । उहाँले सोही ग्यालरीबाटै कसमस शृङखलाको थालनी गर्नुभएको थियो ।
‘मिथिला कसमस : एक कला यात्रा’ शीर्षकमा आज साँझबाट सुरु कला प्रदर्शनीको समारोहका बीच कलाका इतिहासविद् जुलिया लिओड विलियम्सले उद्घाटन गनुएभयो ।
आजको शृङ्खलामा कलाकार सुमनले मिथिला परम्पराको मूललाई समेटेर आजको सन्दर्भमा नयाँ प्रस्तुति दिएको बताउनुभयो । यहाँको कला प्रदर्शनीमा ३१ वटा कलाकृति समावेश छ । उहाँका चित्रकलाका मूल्य एकलाख ३० हजार देखि ३ लाख ७५ हजारसम्म मूल्यका छन् ।
सिद्धार्थ आर्ट ग्यालरीमा एक महिनासम्म प्रदर्शन हुने प्रदर्शनीमा चित्रकार सुमनले गीति कथा, नवदुर्गा, गीतासार, जनकपुरका कथा, लोक नृत्यका कथाहरु, कथात्मक नृत्यहरुलाई पेन्टिङका माध्यामबाट प्रस्तुत गर्नुभएको छ ।
उहाँको बसाई उपत्यकामा धेरै भएकाले यहाँको संस्कृति र सम्पादबाट पनि चित्रकार सुमन प्रभावित भएर मिथिला स्वादमै चित्र सिर्जना गर्दै आउनुभएको छ ।
उपत्यका बसाईको प्रभाव पनि उहाँका कलामा देख्न सकिन्छ । पशुपतिनाथको उत्पत्ति, काठमाडौँ उपत्यका, स्वयम्भू र बौद्धको कथालाई समेत उहाँले समेटेको बताउनुभयो । प्रदर्र्शीत चित्रमा राम, रामायणका कथा, समुद्र मन्थनका विषयसमेत अटाएको छ । हरेक सिर्जनामा उहाँले मिथिलाको परम्परालाई कायम राख्नुभएको छ ।
विशेष गरी भित्ते कला, भूईं कला (अरिपन) र गोदना (मानव अङ्गमा बनाइने कला) मिथिलाका खास कला हुन् । त्यही परम्परागत कलालाई संयोजन गरेर उहाँले गौतम बुद्धको जन्म, मायादेवीको सपनाका कथाहरु समेत समेट्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “एससी सुमन बन्न सजिलो छ, तर बनिरहन गाह्रो छ, काम गर्दा त्यसलाई मेन्टेन गर्नुपर्छ, आधुनिक समयलाई पनि ध्यान दिनुपर्छ, तब मात्रै कलायात्रा कायम रहन्छ, नयाँ पुस्तामा हराईंदैन, त्यो प्रयास यहाँ देख्न सकिन्छ ।” त्यसैले यो एक कलायात्राका रुपमा प्रस्तुत गरिएको उहाँले सुनाउनुभयो ।
उहाँले क्यान्भासमा एक्रेलिक, नेपाली कागजमा एक्रेलिक र नेपाली कागजमा परम्परागत रङ सिमीको पात, फूलको रस, गाईको गोबरलगायतको प्रयोग गर्नुभएको छ । यस्ता रङ प्रयोगमा चुनौतीपूर्ण छ, तर बचाइराख्नुपर्छ भनेर आफूले प्रयोग नरोकेको उहाँले सुनाउनुभयो ।
“यस्ता कुराहरुको संरक्षण गर्नुपर्छ । प्राकृतिक रङ जोगाउनुपर्छ । मैले त्यही गरिरहेको छु”, उहाँले भन्नुभयो, “आफ्नो जन्मभूमि मिथिला भूमिको परम्परागत रुप, प्राकृतिक रङ र आध्यात्मिक सौन्दर्यका साथै समसामयिक मुद्दालाई जोड्ने प्रयास यहाँ गरेको छु ।”
उहाँले यसलाई मिथिला कलाको युगौँ पुराना परम्परा र समसामयिक अन्तरराष्ट्रिय कला समुदायबीच जोड्ने प्रयास गरेको बताउनुभयो । उहाँले यसलाई एक तीर्थयात्रा नै महसुस गरेको सुनाउनुभयो ।
उहाँ सुरुवातदेखि नै मिथिला कलालाई यसको प्रविधि र औजार जोगाएर त्यसलाई मान्यता दिने प्रयास गर्नुहुन्छ । चित्रकार सुमन आफ्नी हजुरआमा र समुदायका महिलाले चाडपर्वमा घरको माटाको पर्खालमा गरेका चित्रण गर्दै र हेर्दै हुर्किनुभएको थियो । त्यही प्रेरणाबाट उहाँले चित्र सिर्जनाका सीप सिक्नुभएको हो ।
क्रस कल्चरल थिएटरमा विद्यावारिधि गर्नुभएका प्राध्यापक शिव रिजालले कलाकार सुमन एक आधुनिक मिथिला चित्रकार भएको र उहाँले आफ्नो राष्ट्र र जनताको कलात्मक सम्पदाको पालनपोषण र प्रवद्र्धनमा योगदान पुर्याउनुभएको बताउनुभयो ।
यस्तै सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक निर्देशक संगीता श्रेष्ठले चित्रकार सुमनाका चित्रहरुले तराईका असंख्य बोटविरुवा र जीवन स्वरुपहरुको छविलाई प्रतिविम्बित गर्ने बताउनुभयो ।
कसमस (कल्पवृक्ष) शृङ्खलामा चित्रकार सुमनले हिन्दु, बौद्ध, र जैन धर्महरुमा साझा गर्ने कलात्मक र साहित्यिक विषयवस्तुबाट प्रेरणा लिनुभएको उहाँले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “उहाँका चित्रहरुमा प्रकृतिसँग गहिरो जरा गाडिएको सम्बन्धको निरन्तर अन्वेषण रहेको छ । उहाँका जटिल र विस्तृत रुखहरु लचिलो पाकेका आँपका साथ भारी हुन्छन्, केहीले इच्छाको काल्पनिक पदकहरु बोकेका हुन्छन् । उहाँका मिथिला ब्रमाण्डका कथाहरुलाई थप समकालीन दृष्टिकोणका साथ सफलतापूर्वक प्रस्तुत गर्नुभएको छ ।”
उहाँले कलाकार सुमनको यो प्रयोगलाई एक कलाकार र तीर्थयात्रीका समानान्तर यात्राका रुपमा हेर्न सकिने र नयाँ पुस्ताका दर्शकलाई विश्वासको बहुबनावटी कथाहरु प्रकट गराउने पनि बताउनुभयो ।