काठमाडौँ, २२ मङ्सिर : वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भइ कारागारमा रहेका बेला जेनजी आन्दोलनमा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रुपेश कुँवरसमेत भएको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बिक्री वितरण मुद्दामा दोषी ठहर भइ कारागारमा रहेका बेला भाग्ने गोरखाको सिरानचोक गाउँपालिका ८ घर भई हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङलाई पक्राउ गरिएको हो ।
उनलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनीविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ भदौ २८ गतेको फैसलाले ६ वर्ष कैद सजाय तोकिई केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका थिए ।
उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उक्त कारागारबाट फरार भएका थिए।
कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मनमैजुबाट पक्राउ गरी आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पठाएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।