काठमाडौँ । रुसका राष्ट्रपति व्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि आज (बिहीवार) बेलुकी भारत आइपुगेका छन् ।
रुसी राष्ट्रपति पुटिन भारतीय राजधानी नयाँ दिल्लीको पालम विमानस्थलमा विमानबाट उत्रिएपछि उनको स्वागत गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफै पुगेका थिए । उनले पुटिन न्यानो स्वागत गर्दै पुटिनसँग हात मिलाए र अंकमाल गरे । सामान्यतया विदेशी पाहुनाको स्वागत भारतका वरिष्ठ मन्त्रीहरूले गर्ने गर्छन् ।
विदेशी पाहुनाको स्वागत गर्न प्रधानमन्त्री मोदी आक्कलझुक्कल मात्र विमानस्थल पुग्ने गरेका छन् । यसअघि मोदी कतारका अमीर शेख तमिम बिन हमाद अल-थानीको स्वागत मोदी आफैले गरेका थिए भने सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा मोदीले नै उनको स्वागत गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि रुसी तेल खरीद नगर्न‚ रुसलाई समर्थन नगर्न र पश्चिमी गुटमा सामेल हुन दबाब दिइरहेका वेला मोदीले रुसी राष्ट्रपति पुटिनको आफैले न्यानो स्वागत गरेर अमेरिकालगायत पश्चिमी देशहरूलाई उनीहरूको दबाबसामु भारत नझुक्ने संकेतका रुपमा कूटनीतिज्ञहरूले अर्थ्याएका छन् ।
विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन दुवै जना एउटै गाडीमा बसेर होटलतिर गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सम्मानमा आजै व्यक्तिगत तवरबाट रात्रिभोज आयोजना गर्दै छन् । दुईदिने भ्रमणमा आएका पुटिनले भारतमा करीब ३० घण्टा बिताउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुटिन नयाँ दिल्लीमा अवतरण हुनुअघि नै रुसका उपप्रधानमन्त्री डेनिस मातुरोव र रक्षामन्त्री सर्गेई सोइगुलगायत केही रुसी मन्त्रीहरू नयाँ दिल्ली आइसकेका थिए । पुटिनको भ्रमण दलमा ७ जना रुसी मन्त्री र रुसी केन्द्रीय बैंकका गभर्नर पनि सामेल रहेका छन् ।
पुटिनको भ्रमणका लागि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी राजधानी नयाँ दिल्लीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् । पुटिनले मोदीसँग ‘क्लोज डोर मिटिङ’ पनि गर्नेछन् ।
राष्ट्रपति पुटिन प्रधानमन्त्री मोदीसँगै भोलि नयाँ दिल्लीमा हुने २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
पुटिन विश्व राजनीति तरंगित भइरहेका वेला भारत भ्रमणमा आएका छन् । यूक्रेन युद्ध‚ यूरोपसहित अमेरिकासँग रुसको बढ्दो तनाव र एशियामा समेत फेरिँदै गएको राजनीतिक समीकरणबीच पुटिन भारत भ्रमणमा आएका छन् । यूक्रेनसँग युद्ध शुरु भएयता सुरक्षाका कारण उनी हत्तपत्त विदेश भ्रमणमा गएका छैनन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यसअघि ९ पटक भारत भ्रमण गरिसकेका पुटिनको रुस-यूक्रेन युद्ध शुरु भएपछि यो नै पहिलो भ्रमण भएको जनाएका छन् । उनको भ्रमण भारत-रुसबीच रणनीतिक साझेदारी शुरु भएको २५ वर्ष पूरा भएको अवसरमा भएको हो । सन् २००० अक्टोबरमा तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयी र राष्ट्रपति पुटिनले भारत-रुसबीच रणनीतिक साझेदारीमा हस्ताक्षर गरेर यसको शुरुआत गरेका थिए ।
बेलायती सञ्चारमाध्यम बीबीसीले पुटिन नयाँ दिल्लीमा उत्रिइसकेपछि रुसी मन्त्री सर्गेई चेरेमिनलाई उद्धृत गर्दै भारत-रुसबीच एउटा रणनीतिक र विशेष साझेदारी रहेको उल्लेख गरेको छ । बीबीसीका अनुसार उनले दुवै देशका साना र मझौला उद्योगहरू तथा व्यवसायी/व्यापारीहरूका नयाँ बाटो खोज्नुपर्ने बताएका छन् ।
भारत-रुसबीच महत्त्वपूर्ण सम्झौताहरू हुने
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-रुसबीच १५ वटा व्यापारीक र रक्षालगायत समेत गरी २५ वटा सम्झौता हुनसक्ने सम्भावना छ । पुटिनको यो भ्रमणमा भारत-रुसबीच भोलि ९ वटा महत्त्वपूर्ण सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सय अर्ब अमेरिकी डलरबराबर द्वीपक्षीय व्यापार पुर्याउने लक्ष्य
पुटिन यो भारत भ्रमणका क्रममा २३औँ भारत-रुस सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलन भारत र रुसबीच वर्षेनि हुने गरेको द्वीपक्षीय बैठककै एउटा हिस्सा हो । हरेक वर्ष दुवैले पालैपालो यो बैठक आयोजना गर्दै आएका छन् । यस वर्षको बैठक आयोजना गर्ने पालो भारतको हो ।
दुवै देशको लक्ष्य सन् २०३० सम्ममा द्वीपक्षीय व्यापार एक सय अर्ब अमेरिकी डलर पुर्याउनु रहेको र यसका लागि यो सम्मेलन गर्दै छन् । सम्मेलनमा ऊर्जा‚ लगानी‚ प्रविधि र उद्योगलगायत कैयौँ क्षेत्रमा दुवै देशबीच नयाँ साझेदारी गर्नेसम्बन्धमा छलफल हुनेछ ।
द्वीपक्षीय नयाँ ‘भुक्तानी प्रणाली’ विकास गर्ने तयारी
पुटिनको यात्राका दौरान भारत-रुसबीच नयाँ भुक्तानी प्रणाली विकास गर्ने सहमति हुने सम्भावना रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले भारतलाई सस्तो मूल्यमा कच्चा तेल विक्री गरिरहेको छ‚ जसको भुक्तानी रुसलाई गर्न अमेरिका र यूरोपेली देशहरूको दबाबका कारण भारतले समस्या झेल्नु परेको छ । यसैले दुवै देशबीच नयाँ भुक्तानी प्रणाली विकास गर्न सहमति जुट्ने सम्भावना छ । यसका लागि उनीहरू रुपया-रूबल व्यापार‚ विद्युतीय भुक्तानी वा कुनै तेस्रो देशको बैंकको उपयोग गर्ने जस्ता प्रणालीमा सहमत हुन सक्ने अनुमान छ ।
यसका साथै रुसले आर्कटिक क्षेत्रमा उसले सञ्चालन गर्ने ऊर्जा परियोजनामा भारतलाई लगानी गर्ने अवसर दिनसक्ने पनि भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आर्कटिक क्षेत्रमा रुसले विश्वकै सबैभन्दा ठूलामध्ये एक तेल-ग्यास भण्डार विकास/निर्माण गरिरहेको छ ।
भारत-रुसबीच २ अर्ब अमेरिकी डलरको पनडुब्बीको डील
यसबीच भारतीय सञ्चारमाध्यमहरूले रुससँग भारतले करीब २ अर्ब अमेरिकी डलरमा परमाणु ऊर्जाबाट चल्ने लडाकु पनडुब्बी (अट्याक सबमरिन) लिजमा लिने सहमति लगभग तय भएको जनाएका छन् । यो सहमति पुटिन भारत आइपुग्नुअघि नै भइसकेको पनि उनीहरूले उल्लेख गरेका छन् ।
ब्लूमबर्गले जनाएअनुसार उक्त पनडुब्बी भारतले १० वर्षको लिजमा लिन लागेको हो । लिजका शर्तबमोजिम युद्धमा भने उक्त पनडुब्बी प्रयोग गर्न पाइने छैन । उक्त पनडुब्बी भारतीय जलसेनालाई तालीम दिन र भारतका परमाणु पनडुब्बीको क्षमता सुधार तथा सुदृढ गर्न प्रयोग गरिने बताइएको छ ।
रुससँग लडाकु पनडुब्बी लिजमा लिन भारतले प्रयास गरेको करीब एक दशक भए पनि लिजको रकममा सहमति नहुँदा अड्किएको थियो । अहिले भने दुवै देशबीच यसबारे सहमति भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसै सन्दर्भमा गत नोभेम्बरमा भारतीय रक्षा अधिकारीहरूले रुसको शिपयार्ड भ्रमणसमेत गरेका थिए । भारतले उक्त पनडुब्बी २ वर्षभित्र प्राप्त गर्ने अपेक्षा गरेको छ ।
भारतले रुससँग जमिनबाट आकाशमा प्रहार गर्ने एन्टी ब्यालेस्टिक मिसाइल एस-४०० र यसको सुधारिएको संस्करण एस-५०० खरीद गर्ने सम्झौता गर्नसक्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतले केही महीनाअघि गरेको ‘अपरेशन सिन्दूर’ का क्रममा एस-४०० ले कैयौँ पाकिस्तानी जेट खसालेको उल्लेख गरेका छन् । तिनै एस-४०० नै भारत-पाकको उक्त तनावमा भारतका लागि जीत दिलाउने महत्त्वपूर्ण साधन भएको दावी उनीहरूको छ ।
पुटिन चाहन्छन्- भारतले धेरै तेल खरीद गरोस्
भ्रमणका दौरान राष्ट्रपति पुटिनले भारतलाई अझै धेरै कच्चा तेल रुससँग खरीद गर्न आग्रह गर्नसक्ने बताइएको छ । बीबीसीका अनुसार रुस-यूक्रेन युद्धअघि भारतले कुल तेल खरीदको २ दशमलव ५ प्रतिशत मात्र रुससँग किन्ने गरेको थियो । तर रुस-यूक्रेन शुरु भएपछि भने भारतले आफ्नो कुल तेल खरीदको ३५ प्रतिशत तेल रुससँग किन्ने थालेको थियो । किनभने अमेरिकासहित पश्चिमी देशहरूले रुसी तेल खरीदमा प्रतिबन्ध लगाएपछि रुसले आफ्नो तेल सस्तोमा विक्री गरिरहेको छ ।
रुससँग सस्तोमा तेल किनेर अरुलाई बेच्दा भारतलाई निकै आर्थिक फाइदा भइरहेको छ । तर भारतले रुससँग तेल खरीद गरेकोमा अमेरिका आक्रोशित छ । यसैकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा भारतबाट अमेरिकामा हुने वस्तु तथा सेवाको आयातमा अतिरिक्त कर लगाए । त्यसपछि भने भारतले रुससँग खरीद गर्ने तेलको परिमाण घटाएको छ । त्यसैले पुटिन चाहन्छन् फेरि भारत रुससँग ठूलो परिमाणमा तेल खरीद गरोस् ।
भारत-रूसबीचको ‘स्पेशल एंड प्रिविलेज्ड स्ट्राटेजिक पार्टनरशिप’
भारत र रूसबीच ‘स्पेशल एंड प्रिविलेज्ड स्ट्राटेजिक पार्टनरशिप’ साझेदारी रहेको छ । साझेदारीअन्तर्गत दुवै देशबीच लामो समयदेखि हातहतियार‚ प्राविधिक तथा रक्षा सहयोग रहँदै आएको छ । यसै सन्दर्भमा एसयू-५७ र एस-५०० जस्ता अत्याधुनिक रुसी हतियार भारतले खरीद गर्न सक्छ ।