काठमाडौँ : अमेरिकासँग भारतको सम्बन्ध तनावपूर्ण रहेका वेला नयाँ दिल्ली आएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कसिलो अंकमाल पश्चिमा मुलुकका लागि चासोको विषय बनेको छ ।
उनीहरुबीचको हार्दिकताले भारत रुसबीच कैयौँ नयाँ सम्झौता हुने देखिएको छ । जसले अमेरिकालगायत मुलुकका लागि चुनौती हुने अनुमान गरिएको छ।
रूसी राष्ट्रपति आज साँझ पालम विमानस्थलमा अवतरण गरेका पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुगेका थिए।
विमानस्थलमा शुरुमा दुवै नेताले पहिला हात मिलाए र कसिलो अँगालो मारे। दुवै नेता विमानस्थलबाट एउटै कारमा प्रधानमन्त्री निवासतिर लागे। दुई नेताबीच एक्लाएक्लै वार्ता भारतीय समय साढे ८ बजेसम्म चलेको थियो।

बैठकपछि रूसी नेताहरू रातिका लागि होटल फर्कनेछन्। पुटिनलाई शुक्रवार औपचारिक रूपमा स्वागत गरिनेछ।
यसपछि २३औँ भारत रूस शिखर सम्मेलन हुनेछ। भोलि प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन र उनको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नेछन्।
भारतीय अधिकारीका अनुसार पुटिनले बिहान राजघाट भ्रमण गर्ने भएका छन्। शिखर सम्मेलनपछि पुटिनले रूसको राज्य प्रसारकको इन्डिया च्यानलको उद्घाटन गर्नेछन्, त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मुले उनको सम्मानमा भोज आयोजना गर्ने छिन्।
करिब २८ घण्टाको भ्रमणपछि पुटिन शुक्रबार राति करिब ९स्३० बजे भारतबाट प्रस्थान गर्नेछन्।
उनको भ्रमणको उद्देश्य समग्र द्विपक्षीय रणनीतिक र आर्थिक साझेदारीलाई विस्तार गर्नु हो। मोदी र पुटिनबीच शुक्रबार हुने शिखर वार्तामा रक्षा सहयोग बढाउने, द्विपक्षीय व्यापारलाई बाह्य दबावबाट जोगाउने र साना ‘मोड्युलर रिएक्टर’को क्षेत्रमा सम्भावित सहयोगमा केन्द्रित हुने सम्भावना छ।
यो भ्रमणलाई पश्चिमी देशहरूले निकै सावधानीपूर्वक नियालिरहेका छन्। भारत र रूसबीचको २३औँ शिखर सम्मेलनपछि दुवै पक्षले व्यापारलगायत धेरै क्षेत्रमा सम्झौता गर्न सक्नेछन्।
भ्रमणमा व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक साँस्कृतिक र मानवीय विषयमा सहयोग आदानप्रदान हुनेछ ।