काठमाडौँ : एउटा अतिवादी समूहका नाममा एउटा अज्ञात पत्र सरकारी संयन्त्रमा प्रेषित भएको भनिएको पत्रबारेका समाचार अहिले बाहिरिएको छ।
त्यसरी बहालवाला र पूर्व गरी १० जना भीआइपीहरुविरुद्ध मार्ने भन्दै पत्र आएको बताइएको छ। ज्यान मार्नेसम्मको धम्की आएको बताइएको छ। नेपाल प्रहरीले भने त्यस्तो वास्तविकताबारे खोजी थालेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धिताल त्यस विषयमा कुनै आधिकारिक जानकारी वा जाहेरी केही नआएको बताउँछन्।
उनले सुन्नमा आएको कुराका विषयमा प्रहरीले आआफ्नो तरिबाट आवश्यक सतर्कता अपनाइरहेको र सधैँ अपनाइरहने थाहाखबरलाई जानकारी दिए।
तर प्रहरी स्रोतका अनुसार त्यस विषयमा उच्च निगरानी राख्न भने मातहतलाई निर्देश गरेको छ।
‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ (इएनजी) भनेर लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरमेन’ प्रकाश पाठकको नाम उल्लेख छ।
उक्त समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वआईजीपी ओमविक्रम राना, कांग्रेस नेत्री आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत १० जनाको नाम उल्लेख भएको छ।
प्रहरी प्रधान कार्यालयले भने तर्साउन कसैले त्यसो गरेको हुनसक्ने जनाएको छ।