सौराहा : पौष ११ देखि १३ गते १९औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ। महोत्सवको तयारी थालिएको क्षेत्रीय होटल संघ सौराहाले जानकारी दिएको छ।
चितवनमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । जेनजी आन्दोलनका कारण शिथिल बनेको सौराहासहित चितवनको पर्यटनलाई लयमा फर्काउन यसपालि महोत्सव आयोजना गरिएको हो।
रत्ननगर नगरपालिकाको संरक्षकत्वमा क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा पौष ११ देखि १३ गतेसम्म महोत्सव हुने छ ।
महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नेछन्। महोत्सवअन्तर्गत हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी, पालिकास्तरीय डुङ्गा रेस प्रतियोगिता तथा करिब ७० वटा हात्तीहरुद्वारा शोभायात्रा निकालिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीमैत्री प्रतियोगिता तथा सफारी पर्यटन प्रवद्र्धनका लागि अतिथिहरुलाई हात्ती, जिप र डुङ्गा सफारी गराउने पनि उहाँले बताउनुभयो ।
महोत्सवका वेला क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आबद्ध सदस्यहरुको होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छूटसमेत दिइएको छ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक खतिवडाले सौराहाको सफारी पर्यटनलाई असफल बनाएर समग्र चितवनको पर्यटनलाई ध्वस्त बनाउने योजनाका साथ अधिकारको विषय उठाएर चर्का विरोध हुने गरेको भन्दै महोत्सवमा हात्तीमैत्री खेलहरु मात्र समावेश गरिएको बताउनुभयो ।
रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सफारी पर्यटनलाई जीवित राख्न व्यवसायीहरुले लगानी जोखिममा राखेर हात्ती पालेको बताउँदै ‘ठूलो लगानी गरेर पालेको हात्तीलाई दुःख दिने कल्पना पनि नहुने बताउनुभयो ।
संघका महासचिव महेश खनालले सौराहालाई पुरानै अवस्थामा फर्काउन महोत्सव कोसेढुङ्गा साबित हुने बताउनुभयो। सौराहामा १५० होटल र ९० बढी रेस्टुरेन्टहरु रहेका छन्।
महोत्सवमा २५ वटा विभिन्न सामग्रीसहितका स्टल (कक्ष) रहने क्षेत्रीय होटेल संघका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो ।