काठमाडौँ, १४ मङ्सिर : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज महिलाहरुले योःमरी बनाउने कला सिकेका छन् ।
प्रतिष्ठानको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ भएको ‘नेवाः लोककला अन्तक्र्रिया तथा कला कार्यशाला’का अवसरमा महिलाहरुले नेवार समुदायको मौलिक खाना यमोरी बनाएर देखाएका थिए।
उक्त कला सिक्यो ५० भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो । उनीहरुले कार्यक्रममा पिठो मुछेर कला सिर्जना गरेका थिए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा. सुरेश सुरस श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यशाला मौलिक लोककलाको जगेर्नाका लागि आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले पहिचान र कला जागरणको कुरा उठाएको बताउनुभयो । उहाँले कार्यशालामा सहभागीले संस्कृतिलाई कलाको विम्बिकरण गरेर देखाएको कला महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा. सुरेश सुरस श्रेष्ठले नेपालमा योःमरि जस्ता विभिन्न अभौतिक सांस्कृतिक सम्पदा लुकेर रहेको र त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेवाः समुदायको परिचय बोकेको योमरीलगायतका लोककलाको संरक्षण, प्रवर्धन तथा पुस्तान्तरण गरिनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले लोककला, संस्कृतिको संरक्षण र पुस्तान्तरणको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा यस कीसिमका कार्यक्रमलाई निरन्तरता दिँदै जाने धारणा राख्नुभयो ।

समारोहमा त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागका सहप्राध्यापक डा.राजनलाल जोशीले ‘यःमरिः कलाकारिताको प्रारम्भ’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यपत्रमाथि कलाकार तथा कार्यक्रम संयोजक मनरा प्रजापतिले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको प्रशिक्षकका रूपमा सुमन महर्जन रहनुभएको थियो भने कलाकार सम्झना राजभण्डारीले पनि यःमरि कलाका बारेमा आफ्ना अनुभवको चर्चा गर्नुभएको थियो ।