काठमाडौँ, १४ मङ्सिर : गएको भदौ २३-२४ गते भएको जेनजीको प्रदर्शनमा काठमाडौँ जिल्लामा घाइते भएकाहरुको वर्गीकरण गरिएको छ ।
प्राप्त विवरण अनुसार आजसम्म कुल १६९ जना घाइतेको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
दुई चरणमा गरेर उनीहरुको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिनुभयो ।
चार क्याटगरीमा उनीहरुको वर्गीकरण गरिएको जानकारी दिँदै उहाँले अति गम्भीर घाइतेको सूचीमा १५ जना, गम्भीर घाइतेको सूचीमा ५१ जना, मध्यम घाइतेको सूचीमा ३६ जना र सामान्य घाइतेको सूचीमा ६७ जना रहेको बताउनुभयो ।
उहाँका अनुसार यही मंसिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी उनीहरुको वर्गीकरण गरिएको छ । असक्तहरुको हकमा भने उनीहरु उपचाररत अस्पतालमै गएर टोलीले वर्गीकरण गरेका छन् ।
यस्तै प्रशासन कार्यालयमा आउन अफ्ठेरो हुनेहरुको हकमा एम्बुलेन्स पठाएर ल्याई वगीएकरण गरिएको हो ।
प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ का आधारमा यसरी वर्गीकरण गरेको हो ।
प्रशासन कर्याालयले उक्त वर्गीकरण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी उनीहरुको सूची अनुसार आवश्यक सेवा सुविधार सामाजिक सुरक्षाको व्यवस्था मिलाउने छ ।
जेनजी आन्दोलनमा सुरुवातमा भने प्रशासन कार्यालयले ३१५ जनालाई कार्ड उपलब्ध गराएको थियो ।