काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेकी छिन् ।
छलफलमा राप्रपा नेताहरुले राजासहितको सहभागीतामा सर्वपक्षीय छलफल गर्न माग गरेका थिए । कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गरेका कुरा तल पढ्नुहोस्।
…
हामी राष्ट्रिय मुद्दामा सबै पक्ष एक हुनुपर्छ । झगडा धेरै गर्यौँ। क्षति धेरै बेहोरिसक्यौँ। धेरै कुरा गुमाइसक्यौँ। अब भएको जोगाऔँ। नयाँनयाँ समस्या तेर्स्याएर होइन, सम्हालिएर हिँडौँ। विमतिका कुरा छन् भने आफ्ना मत लिएर जनतामा जाने कुरा गरौँ। चुनावमा जनताबाट अनुमोदित भएर आफ्ना एजेन्डा लागू गरौँ। सम्भावित अस्थिरताप्रति सतर्क हुनुपर्छ।
यहाँ मेरा लागि र यो सरकारका लागि कोही आफन्त(पराया छैनन्। हामी कुनै पनि कारणले पंक्तिभेद गर्दैनौँ। तपाईँहरु र अरु जोकोहीले दिने दिने सुझाव सम्मानसाथ ग्रहण गर्छौँ।
भ्रष्टाचार प्रकरणका धेरै थाती रहेका मुद्दा अगाडि बढेका छन्। यस मामिलामा पनि चुप लागेर बस्दैनौँ। मुलुकको वातावरण बिगार्न धेरै लागेका छन्। यिनलाई कारबाही नगर्ने हो भने यो देश कहिल्यै उभो लाग्नेवाला छैन।
दण्डहीनतालाई प्रश्रय दिए राम्रो हुँदैन। यसपालि त्यस्तो हुनुहुँदैन। निर्दोष बालबालिका सडकमा हिँड्दाहिँड्दै पनि मारिएका छन्। यस विषयमा छानबिन आयोगको प्रतिवेदनमा जे सिफारिस आउँछ, त्यो कार्यान्वयन हुन्छ।
हामी चुनावमा पनि पैसा खर्च गर्ने प्रवृत्ति नियन्त्रण गर्न लागेका छौँ। तपाईँहरु पनि स्वच्छ चुनावका लागि मितव्ययी ढंगले लाग्नुहोस्।